काभ्रेको खानीखोलामा तीन दिन बिदा
काभ्रे: खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावर/ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ल्होछार पर्व मनाउन आगामी माघ ७, ८ र ९ गते गाउँपालिले बिदा दिने निर्णय गरेको बताए। यो भन्दा पहिला संघ सरकारले एक दिन बिदा दिने गरिएकोमा स्थानीय सरकारले यस पटकबाट तीन दिन बिदा दिएर बिभिन्न कार्याक्रमहरुको आयोजना गरिएको बताए। पालिकामा पहिलो दिन (माघ ७ गते) लामा खेन्पोबाट पुजा, दोस्रो दिन तामाङ भाषाको व्हाईखा (कविता) र ताम्बा/डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको जनाएको छ।
ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोला अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ।
तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ। त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ। तामाङ समुदायले चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ। जिल्लामा स्थानीय सरकार रोशी गाउँ पालिकाले पहिलो पटक ल्होछारमा तीन दिन बिदा दिने कार्य सुरु गरिएको थियो।
रोशी गाउँ पालिकाका पूर्वअध्यक्ष डीबी लामाले संघ सरकारले दिएको एक दिन बिदा र पालिकाले थप दुई दिन बिदा घोषणा गरी विभिन्न कार्यक्रमसहित समुदायमा सचेतना दिन सुरुवात गरिएको बताए।