लोकमार्गले बन्यो सुगम

सदरमुकाम बागलुङ बजारसम्म आउनसमेत निसीबासीलाई ३/४ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो।

लोकमार्गले बन्यो सुगम

बागलुङ : कुनै समय बागलुङको निसी–भलकोटलाई जिल्लाकै दुर्गम स्थानमा गनिँदै आएको थियो। प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम बागलुङ बजारसम्म आउनसमेत निसीबासीलाई ३/४ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। 

राष्ट्रिय गैरवको सडक आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग बनेपछि पश्चिम बागलुङका निसी–भलकोटबासीहरूलाई भने बरदान सावित भएको छ। लोकमार्गले निसी–भलकोट जिल्ला सदरमुकाम र पूर्वी रुकुमसँग सिधा सडक सञ्जालमा जोडिएपछि दुर्गमको परिचय नै बदलिएको हो। निसी गाउँपालिकको मुख्य सडकखण्ड नै मध्यपहाडी लोकमार्ग हो। 

लोकमार्गको कालोपत्रे सडक नै निसीका जनतालाई जिल्ला, प्रदेश र संघीय राजधानीसँग जोड्ने माध्यम बनेको छ। जिल्ला सदरमुकाममा प्रशासनिकलगायतका कामका लागि निसीबासीहरू एकदिनमै आउन सक्ने भएका छन्।

सडक सञ्जालकै कारण पछिल्लो समय निसीमा बजारीकरणसमेत विस्तार हुँदै गएको छ। लोकमार्गका कारण सेवा सुविधा विस्तारले निसी सुगम गाउँको रुपमा परिचित हुँदै गएको छ। सडक बनेपछि निसीमा सञ्चार सेवा पनि विस्तार भएको छ। 

लोकमार्ग आसपास क्षेत्रका जग्गाको मुल्यसमेत बढ्दै गएको निसीखोला गाउँपालिका–१ का निर्वतमान वडाध्यक्ष इन्द्रबहादुर  मल्लले बताए। उनले सडक सञ्जाल विस्तार हुनुअघि सित्तैमा गरीखान पाइने जग्गाको भाउ अहिले आकासिएको बताए। मध्यपहाडी लोकमार्गले आसपासका समथर खेतबारीमा पक्की घर बन्न थालेका छन्।

लोकमार्गले बागलुङका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई जोडेको छ।

लोकमार्ग जिल्ला सदरमुकामदेखि निसीको पातिहाल्ने (रुकुमको सिमाना)सम्म जोडिएको छ। बुर्तिवाङ बजारलाई नेपाल सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने १० वटा नमुना सहरका रुपमा विकास गर्न थालेको छ।
बागलुङ बजारको उपल्ला चौरदेखि सुरु भएको लोकमार्गले निसीको पातिहाल्नेसम्म पुग्दा काठेखोलाको अक्षते, बिहुँ रिजाल चोक, घाँडाबाँधे, गलकोटको हटिया, बडिगाडको खर्वाङ, खौरा, खारा, न्वारा, भिमगिठे, हाँडिखोला, रिघाफेदी, ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको देविस्थान, ढुँवाखोर, झिवाखोला, जुग्जाखोला, कानाबगर, बडावनखोला, निसी, भल्कोट क्षेत्रमा बजारीकरण विस्तार भएको छ।
लोकमार्ग विस्तार भएपछि जनतालाई सरकारी सेवा सुविधाको उपयोग, दैनिक उपयोग्य बस्तुको खरिदबिक्री र गाउँको उत्पादनलाई बजारीकरणमा सजिलो भएको बडिगाड गाउँपालिका–३ का पूर्ववडाध्यक्ष खडकबहादुर पुनले बताए।

पहुँच मार्गलाई ध्यानमा राखेर जिल्ला सदरमुकामदेखि निसी पातीहाल्नेसम्म युवाहरूले लोकमार्ग आसपासमा नयाँ–नयाँ रेष्टुरेन्ट, होटल, माछा तथा बंगुर फर्म, गाईभैसी फर्म सञ्चालन गरेका छन्। काठेखोला गाउँपालिका–५ बिहुँको घोडाबाँधे र रिजाल चोक क्षेत्र होटल व्यवसायीले भरिएका छन्। मध्यपहाडी लोकमार्ग बागलुङको जिरोकिलो उपल्लाचौरमा बस्ती विस्तार भएको छ।

जिल्लाका अन्य स्थानीय तह पनि लोकमार्ग पहुँचबाट धेरै टाढा छैनन्। लोकमार्गले नछोएको स्थानीय तहमा कालीगण्डकी करिडोर विस्तार भएको छ। ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले नजिकको स्थानबाट लोकमार्गसम्म पहुँच मार्ग विस्तार गरेका छन्।

२४ वटा जिल्ला र २२५ वटा बस्तीलाई जोड्ने लोकमार्गको १ हजार ७ सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी १ सय ३४ किलोमिटर खण्ड बागलुङमा पर्छ। लोकमार्गको १ सय २० किलोमिटर कालोपत्रे भएको छ भने १४ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.