स्वर्गीय आमाको नाममा स्मृति पुरस्कार
दोलखा : पत्रकार चिरञ्जीवी मास्केले आफ्ना आमाहरू विष्णुलक्ष्मी श्रेष्ठ (कर्म दिने) र तुलसीमाया मास्के (जन्म दिने) को स्मृतिमा विष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मान पुरस्कार प्रदान गरेका छन्।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले स्थापना गरेको सम्मानवाट दोलखाको भीमेश्वर नगरपालिका-६ चोथाङ घर भएका रविन्द्र तामाङलाई सम्मान गरिएको छ।
फुटकर साहित्य र कविताहरू पनि लेख्दै आएका साहित्यकार तामाङलाई सदरमुकाम चरिकोटमा आज एक कार्यक्रमका बीच प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद भरत केसीले नगद १० हजार र सम्मानपत्र सहित सम्मान गरेका छन्।
मास्केले प्रत्येक वर्षको माघ १ गते आफ्नो जन्मदिनका अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएका छन्। हालसम्म ११ जना स्रष्टाले सम्मान प्राप्त गरिसकेका छन्।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक वर्ष प्रकाशन गर्दै आएको प्रदेय साहित्यिक पुस्तकसमेत सार्वजनिक गरिएको छ।
पुस्तकमा जिल्लाका ३८ जना सर्जक र स्रष्टाका लेख रचना समेटिएका छन्। विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा पुस्तक सार्वजनिक कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भरतबहादुर केसीले कला, साहित्य र संस्कृतिको क्षेत्रको विकासले मात्र समग्र सम्बृद्धि सम्भव भएको धारणा राखेका छन्।
सांसद केसीले साहित्यिक क्षेत्रको विकाससँगै अरू विकास गर्न सकिने भन्दै राजनीतिक रूपमा विभक्त नभइ विकासका लागि एक भएर लाग्न आवश्यक भएको बताए।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले स्थानीय तहको कला, साहित्य, भाषा, धर्म संस्कृतिको विकासका लागि वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा दोलखा संस्कृति प्रतिष्ठान दोलखाका अध्यक्ष शंकरलाल श्रेष्ठले प्रदेय पुस्तकले दोलखाको साहित्यिक इतिहासमा पुलको काम गरेको, साहित्यलाई जोड्ने काम, समाज रुपान्तरण गर्ने काम गरेको बताए।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले साहित्य र पत्रकारिताको माध्यमबाट दोलखालाई चिनाउनुपर्ने बताए।