सन्दीप क्रिकेटमा फर्किन सक्छन्, अहिलेनै सम्भव छैन (भिडियो वार्ता)
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)का महाप्रबन्धक वृतान्त खनालले मुद्दाको किनारा नलाग्दै सन्दीप लामिछाने अहिले नै क्रिकेटमा फर्कन सक्ने बताएका छन्। क्रिकेटमा फर्कन सन्दीपलाई सजिलो भने नरहेको उनको भनाइ छ ।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै उनले भने, 'सन्दीप क्रिकेटमा फर्किनसक्ने भए पनि अहिले नै सजिलो छैन। सन्दीपले दिएको निवेदनलाई क्यानले स्वीकृत गर्नुपर्यो । क्यानले स्वीकृत गरेर मात्र हुँदैन उनी योग्य छन् या छैनन् भन्ने कुरा छनौटकर्तामा भर पर्छ । छनौटकर्ताले उनलाई छनौट नै गरेनन् भने उनको क्रिकेट करिअर नै अब सकिन्छ। उनी निर्दोष हुनु र खेल्न योग्य हुनु फरक कुरा हो।'
सन्दीपका वकिलहरूका अनुसार उनी अहिले डिप्रेसनमा रहेको बताउँदै खनालले ठीक हुन केही समय लाग्ने बताए। ठीक भइहाले पनि तत्काल टिममा फर्किनसक्ने सम्भावना कम रहेको उनको बुझाइ छ।
महाप्रबन्धक खनालले भने, 'अहिलेसम्मको उनको रेकर्ड हेर्दा सन्दीपको रिप्लेस कोही देखिदैन तर त्यो विगत थियो। अब के हुन्छ थाहा छैन। सर्वप्रथम त उनी फिट हुन पर्यो।'
सन्दीपलाई एक हिसाबले फसाइएको देखिएको बताउँदै उनले 'काल नपल्कियोस' भन्ने चिन्ता बढेको बताए। यो मुद्दालाई अदालतले प्राथमिकतामा राखेर अघि बढाए ६ महिनामा मुद्दा छिनिसकिने उनको भनाइ छ।