मुद्दा : जहाज दुर्घटना
नेपाली आकाश असुरक्षित भन्न मिल्छ ?
नेपाली आकाश असुरक्षित छैन। किनभने अहिले प्रतिदिन २७० देखि २७५ उडान काठमाडौंबाट हुँदै आएको छ। दुर्भाग्य एउटा घटना भयो। हुन त एउटा घटना पनि हुनु थिएन। यो घटना भयो भन्दैमा हाम्रो आकाश असुरक्षित भन्न मिल्दैन। मेरो करिब ३३ वर्षको अनुभव र विश्वको अरू मुलुकको अध्ययन गर्दा हाम्रो जस्तो भौगोलिक बनावट भएको मुलुक अन्त छैन। ८ महिनाअघि एउटा जहाज खसेको थियो। त्यो मौसमका कारणले भएको थियो।
हाम्रो जस्तो भौगोलिक बनावट भएको, पहाडले घेरिएको मुलुक, हरेक २० नटिकलमाइलमा मौसमको अवस्था भिन्नै भएको ठाउँमा, दुर्गममा भएका विमानस्थहरू भएकोले केही दुर्घटना अरू देशमा भन्दा बढी देखिएको हो। यद्यपि, विगतभन्दा अहिले दुर्घटना धेरै कम भएर गएको छ।
नेपालमा किन जहाज खस्छन् ?
विगतदेखि नियालेर हेर्दा हाम्रोमा धेरैजसो मौसमका कारणले दुर्घटना भएको देखिन्छ। त्यसपछि भौगोलिक बनावट डाँडाकाँडा, केही मानविय त्रुटि र केही प्राविधिक कारणले भएको देखिन्छ। पहिला केही कमजोरी थिए। तर, अहिले नियामक निकाय प्राधिकरणले काम गरिरहेको छ।
विमान कम्पनीहरू आफंैले सुरक्षाका मापदण्डलाई अवलम्बन गरिरहेका छन्। किनभने एउटा जहाज दुर्घटना हुँदा मानवीयसँगै आर्थिक क्षति पनि हुन्छ। ती सबैको जस विमान कम्पनीले व्यहोर्नुपर्छ। त्यसमा पनि अन्तर्राष्ट्रिय उड्डयन संगठन आईकाओले, त्यसमा पनि युरोपियन युनियनले पनि सुरक्षाको चेकजाँच गर्छ। र, आजभोलि विमान कम्पनीहरूले पनि समय–समयमा सेफ्टी अडिट गरिरहेका हुन्छन्। आन्तरिक रूपमा पनि स्थापित कम्पनीहरू छन्। सबै जहाज सुरक्षा, सुरक्षित उडानमा सचेत छन्। कहिलेकाहीं भवितव्यले मात्र जहाज खस्ने हो।
विगतमा पनि जहाज खसेपछि छानबिन समिति गठन भए, प्रतिवेदन सार्वजनिक गरे। तर, ती समितिले सुझाएका सुुझावहरूको पालना हुने गरेको देखिदैन नि?
त्यस्तो होइन। पहिला केही समस्या थियो। तर, अहिले सुधारिएको छ। पहिला छानबिन समितिमा पर्न पनि तछाडमछाड हुन्थ्यो। शक्ति भएका मात्र त्यस्ता समितिमा जान्थे। त्यस्ता समितिले दिएका रिपोर्ट थन्क्याउने मात्र हुन्थ्यो। त्यो पुरानो इतिहास भयो। आजभोलि नेपाल सरकार पनि यसमा सचेत छ। त्यस्तै, पर्यटन मन्त्रालय, उड्डयन प्राधिकरण, एयरलाइन्स आफैं पनि सचेत छन्। अहिले गठन हुने छानबिन समिति एकदमै विज्ञतापूर्ण रूपमा गठन हुने गरेका छन्। त्यस्ता समितिहरूले औल्याएका कमीकमजोरी र सुझावहरूलाई पालना भए÷नभएको प्राधिकरण, एयरलाइन्स कम्पनी र अन्तर्राष्ट्रिय निकायले पनि हेर्छ।
- नेपालका पाइलटहरू यस्तो जटिल भौगोलिक बनावटमा पनि उडान भरिरहेका छन्। विश्वका अन्य मुलुकमा भन्दा हाम्रा पाइलटहरू एकदम सक्षम छन्।
- विगतदेखिको घटना हेर्दा हाम्रोमा धेरैजसो मौसमका कारणले दुर्घटना भएको देखिन्छ। अरू कारण भनेको भौगोलिक बनावट, डाँडाकाँडा, केही मानवीय त्रुटि र केही प्राविधिक रहेको देखिन्छ।
यी छानबिन समिति जहाज दुर्घटना भएपछि मात्र गठन हुनुभन्दा एउटा स्थायी संरचना नै खडा हुनपर्यो। सरकारले स्थायी रूपमा छानबिन समिति मन्त्रालयमा खडा गर्नपर्यो। कसैको मुख हेर्नुभन्दा विज्ञहरूको समूह खडा गर्नपर्यो। त्यसले सत्य–तथ्यमा आधारित भएर प्रतिवेदन दिनुपर्यो। ती प्रतिवेदनका सुझावहरू कार्यान्वयन भए÷नभएको हेर्ने जिम्मा पनि दिनुपर्छ। यसले थप सुधार हुन्छ।
जहाज दुर्घटनामा मानवीय त्रुटि देखाइन्छ। यसको मतलब हाम्रा पाइलट दक्ष छैनन् भन्ने हो ?
विगतमा मानवीय त्रुटि देखाउने गरिएको थियो। पाइलट मरिसकेपछि उसलाई दोष दिउ भन्ने चलन थियो। अब त्यो छैन। नेपालका पाइलटहरू यस्तो जटिल भौगोलिक बनावटमा पनि उडान भरिरहेका छन्। विश्वका अन्य मुलुकमा भन्दा हाम्रा पाइलटहरू एकदम सक्षम छन्।
उडान सुरक्षालाई मध्यनजर गरेर नीति, नियम के सुधार गर्न जरुरी छ ?
नेपाल नागरिक उड्डयन प्राधिकरणले सांगठनिकभन्दा कार्यात्मक विभाजन गर्नुपर्छ। नियामक निकाय र सेवाकाबीच तुरुन्तै कार्यात्मक विभाजन गर्नुपर्छ। त्यो भनेको नियामक कसैको इन्टी« हुन्छ भने अवकाश पनि त्यहींबाट होस्। सेवामा कोही आए भने त्यहीं भिज्न पाइयोस्। यता र उताको सरुवाले कार्यक्षमतामा ह्रास आउँछ। र, मुख हेरेर नभई उसको क्षमता हेरेर काममा राखियोस् र अवसर प्रधान गरियोस्। यस्तै, भएका विमानस्थलहरूलाई स्रोत साधनले परिपूर्ण गर्नपर्यो र नचलेका विमानस्थलहरूलाई खारेज गरे हुन्छ।