कालीगण्डकीको शिलाबाट अयोध्यामा रामको मूर्ति
बेनी : हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माण गर्न लागिएको राम मन्दिरमा म्याग्दीस्थित कालीगण्डकी नदी किनारको शिलाबाट बनेको मूर्ति राखिने भएको छ।
मूर्ति बनाउन लैजान तयार पारिएको शिला उत्खनन्स्थलमा आइतबार क्षमापुजा गरिएको छ। बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले बिहान १०ः२०को शुभसाइतमा धार्मिक बिधिअनुसार क्षमापुजा गरेका हुन्।
क्षमापुजामा प्रतिनिधिसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खुमबहादुर गर्बुजा (खम्बिर), निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी र अगुवाहरूको उपस्थिति थियो।
क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधिस राम तपश्वेर दासमार्फत् अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान, नापजाँचको काम सकिएपछि पठाउनुअघि क्षमापुजा गरिएको हो।
नगरप्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन् गरी टिपरमा राखेर बाजागाजा र पुजाआजा गरेर केहीदिनमै जनकपुर पठाइने जानकारी दिए। प्रतिनिधिसभा सदस्य निधिले सरकारी तवरमा विभिन्न चरण र प्रक्रिया पुरा गरेर कालीगण्डकीको शिला उपलब्ध गराउन लागिएको बताए।
‘अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ,’ उनले भने ‘शिला उत्खनन् भएको ठाउँ धार्मिक स्थलको रुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढ्नेछ।’
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य निधिले बताए।
शालीग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतीक भएको राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए। ‘यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौं,’ उनले भने ‘शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्।’
जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दासले अयोध्यामा रामको मूर्ति बनाउन लगिने शिलासँगै जानकी मन्दिरमा सिताको मूर्ति बनाउन अर्को शिला पनि लगिने बताए। ‘हिन्दु धर्मावलम्बीहरूको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ,’ उनले भने ‘यहाँको शिला लगेर मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ।’