भंगहामा थारुको माघी महोत्सवको उल्लास (फोटोफिचर)
ढल्केवर(धनुषा) : महोत्तरीको भंगहामा थारु समुदायमा माघी महोत्सवको उल्लास छाएको छ।
भंगहामा राष्ट्रिय थारु माघी महोत्सवको आयोजना गरेर नयाँ वर्ष थारु सम्वत् २६४६ मनाएको हो। माघी महोत्सव तथा नयाँ वर्षमा सोमबार महोत्सवको आयोजना गरेका हुन्।
थारु कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्तरीको भंगहामा माघी महोत्सव आयोजना गरिएको थारु कल्याणकारी सभा महोत्तरीका अध्यक्ष चेतनारायण चौधरीले जानकारी दिए।
महोत्सवमा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट आएका थारु महिला र पुरुषहरू आफ्नो भेषभुषामा सजिएका थिए।
उनीहरू आफ्नो छुट्टै पहिचान र पोसाकमा सजिएर आएका थिए। उनीहरूले घाँटीमा हसुली, कम्मरमा कर्धन लगाई खुट्टामा कारा लगाएका थिए। कानमा झुम्का र नाकमा नथुनीले अझ उनीहरूको कला संस्कृति झल्कन्थ्यो।
उनीहरूले आफ्नो संस्कृति झल्किने पहिरनमा झाँकी समेत प्रदर्शन गरेका थिए। माघी महोत्सवमा थारुहरूको खानाको विशेष परिकारहरू प्रदर्शनमा राखिएको थियो।
महोत्सवमा लोप हुन लागेका झुमरा नाँच, मयूर नाँच, लठ्ठी नाच, झर्रा लगायतको थारु समुदायको कलाको संस्कृति झल्किने नृत्यहरू प्रस्तुत गरिएको थियो।