के गर्दैछन् भूकम्पले भत्किएको घरबाट २२ घण्टापछि उद्धार गरिएका सोनिश ?
भक्तपुर: २०७२ साल वैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पमा परेका सोनिश अवाललाई २२ घण्टापछि उद्धार गरिएको थियो। उनी अहिले भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थितको एभरेष्ट स्कुलमा कक्षा २ मा पढिरहेका छन्।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले सोनिशलाई नि:शुल्क पढाइरहेको संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए। राजभण्डारीले कक्षा ५ सम्म निःशुल्क पढाइदिने प्रतिवद्धता जनाएका छन्। कक्षा ६ देखि वीरेन्द्र सैनिक आवासीय माविमा नेपाली सेनाले निःशुल्क पढाइदिने प्रतिवद्धता जनाएको छ।
‘हामीले उनलाई पहिलो पटक नर्सरीमा भर्ना लिएर निःशुल्क पढाउन थालेका थियौं,' उनले भने, ‘पाँच कक्षासम्म निःशुल्क अध्ययन गराउने प्रतिवद्धता हामीले गरेका छौँ।’
नर्सरी, जुनियर केजी, सिनियर केजी, एकदेखि पाँचसम्म गरी आठ वर्ष निःशुल्क पढाइदिने उनले बताए। २०७१ मंसिर २९ गते जन्मेका सोनिश यसअघि गतवर्ष पहिलो पटक भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका थिए।
सञ्चारमाध्यममार्फत् सोनिशका अभिभावकले एभरेष्ट इंगलिश स्कुल मिवाछें भक्तपुरमा भर्ना गर्न चाहेको जानकारी आएपछि आफूहरूले भर्ना लिएको उनले बताए।
एभरेष्ट स्कुल भक्तपुरमा प्ले ग्रुपदेखि १० कक्षासम्म पढाइ हुन्छ। यो विद्यालयमा अहिले एक हजार दुई सय विद्यार्थी छन्।