आठ महिना लामो नवदुर्गा नाच सुरु
भक्तपुर : नवदुर्गा गणको आठ महिना लामो नाच (ङालाकेगु जात्रा) सोमबारदेखि भक्तपुरको सूर्यमढीबाट सुरु भएको छ। प्रत्येक वर्ष भक्तपुर नगरपालिका-९ सूर्यमढीबाट नाच सुरु हुने परम्परा रहेको छ।
जीवित देवताका रूपमा रहेको यो नाच काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न स्थानहरूमा प्रदर्शन हुने गर्दछ। नाच आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ। नाच देवगणहरूले खाली खुटामा प्रत्येक दिन फरकफरक टोलहरूमा प्रदर्शन गरिन्छ।
नवदुर्गा गणका सदस्यहरूका अनुसार नाच भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिन्छन्। भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा नाच प्रदर्शन गरिन्छन्। साथै टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गर्ने परम्परा छ।
नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिकालगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ। साथै काठमाडौंको टोखालगायतका विभिन्न स्थानमा पनि नाच देखाइन्छ। उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ।
नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान बनमालाका अनुसार नाचको अनौपचारिक सुरुवात भने प्रत्येक वर्ष पुसको अन्तिम दिनबाट नै हुने गर्दछ।
तर औपचारिक रूपमा देखिने गरी नाच भने प्रत्येक वर्ष माघ २ गते साँझमात्रै सुरु हुन्छ। नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्दछन्।
परम्परागत वेषभूषामा देवगणको प्रतिकका रूपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्छ। साथै नाचका क्रममा घरपरिवारसँग छुटिएर बस्नुपर्ने, खानामा बार्नुपर्ने लगायतको परम्परा छ।
यी लगायत आर्थिक कारणले नाच संकटमा रहेका नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्यहरू बताउँछन्। नाचका लागि आर्थिक लगायतका विभिन्न समस्याहरू रहेकाले सहयोग हुनुपर्ने माग देवगणहरूको छ।
टोलटोलमा नाच देखाइने भएकाले स्थानीयस्तरका नगरपालिकाका, गाउँपालिकाहरूले सहयोग पुर्याउनुपर्नेमा उनीहरूको जोड छ। नाच प्रदर्शन गर्न जाने देवगणहरू यस्तो जाडामो पनि खुला आकाशमुनि त्यतिकै सुत्नुपर्नेलगायतका बाध्यता छ।
प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँदैन।
मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ।
यो जात्रामा दर्शकले सिठ्ठी बजाउँदै मुखमा हत्केलाले थप्थपाउँदै आबाबाबा..... गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्दछन्। लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ।
यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासका रूपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ। यही नै जात्राको मुख्य आकर्षणसमेत हो।