तेस्रो पटकको मतदानबाट सुदूरपश्चिम प्रदेशको सभामुखमा भीम भण्डारी निर्वाचित
धनगढी :सुदूरपश्चिम प्रदेशको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। माओवादी केन्द्रका प्रदेसभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन्।
कूल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मतदानमा ५२ मत खसेको छ। जसमा भण्डारीले २९ मत प्राप्त गरे। उनको विपक्षमा भने २३ मत खसेको हो।
कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरे।
यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयनका लागि २७ सदस्य आवश्यक पर्छ। प्रदेशसभामा अहिले नागरिक उन्मुक्ति पार्टी निर्णयक शक्ति हो। प्रदेशसभाको अंक गणितअनुसार नेपाली कांग्रेस १९, नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एमाले) १०, उन्मुक्ति पार्टी ७, नेकपा (एकीकृत समाजवादी) ४, राप्रपा र स्वतन्त्रका एक/एक सांसद छन्।
अहिलेको सत्ता गठबन्धनमा माओवादी केन्द्र ११, एमाले १०, उन्मुक्ति पार्टी ७ र राप्रपा १ गरी २९ सदस्यको बहुमत छ। एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई पुस २७ गते यी सबैले समर्थन गरेकाले उनी मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् तर मुख्यमन्त्रीमा समर्थन गरेपछि सत्ता गठबन्धनकै एक घटक नागरिक उन्मुक्ति पार्टीले अत्तो थापेपछि सुदूरपश्चिम प्रदेशसभामा सभामुखको चयन भने हुन सकेको थिएन।
सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक गत १७ पुसमा बसेको थियो। संवैधानिक प्रावधानअनुसार माघ २ गतेभित्र सभामुखको चयन भइसक्नुपर्ने हो तर सोमबार बोलाइएको संसद् बैठक पोखरामा भएको विमान दुर्घटनाका कारण राष्ट्रिय शोक प्रस्ताव पारित गर्दै मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित भएको थियो।
५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९ सदस्यसहित ठूलो दल हो। उसले प्रदेशसभाका ज्येष्ठ सदस्यसमेत रहेका आफ्नो पार्टीका मानबहादुर रावललाई सभामुख पदमा उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी सभामुख पदका उम्मेदवार छन्। पहिलो दिन अथवा पुस २८ गते भएको सभामुखको निर्वाचनमा भण्डारी १ मतले मात्रै सभामुख हुनबाट रोकिएका थिए।
सभामुखका लागि पुस २८ गते र पुस ३० गते गरी दुई पटक मतदान भइसकेको छ। पुस २८ गतेको मतदानमा सत्ता पक्षकै एक मत बदर भयो भने एक जना सत्ता पक्षकै सांसदले जनाउ घण्टी बजिसकेपछि आएकाले, सदनमा सहभागिता जनाउन पाएनन्।
त्यसैमा उन्मुक्तिका प्रमुख सचेतकसमेत रहेका लक्ष्मण किशोर चौधरी अनुपस्थित रहे। त्यो दिन सत्ता पक्षका भीमबहादुर भण्डारीले बहुमतका लागि चाहिने २७ मत जुटाउन सकेनन्। भण्डारीको पक्षमा २६ मत हुँदा रावलको पक्षमा २३ मत भए। ३० गते भएको निर्वाचनमा उन्मुक्ति तटस्थ बसेपछि दुवै उम्मेदवारको पक्षमा २२/२२ मत भए। सभामुख चयनकै लागि सोमबार ९ बजे बोलाइएको प्रदेशसभाको बैठक राष्ट्रिय शोकका कारण मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको थियो।