सांसद खड्का विकास योजनाको अनुगमनमा
सुर्खेत : पूर्वगृहमन्त्री तथा सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास योजनाहरूको अनुगमन गरेका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले आइतबार भेरीगंगा नगरपालिकाको जहरे र गुर्भाकोट नगरपालिकाको गुमी जोड्ने भेरी नदीमाथि बन्दै गरेको सडक पुलको अनुगमन गरे।
तोकिएकै समयमा पुलको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए। भेरी नदीमाथि बन्दै गरेको पुलको ठेक्का आशिष–चन्द्रा एन्ड वसन्त कम्पनीले लिएको छ।
कम्पनीका साइट इन्जिनियर नारायण श्रेष्ठ म्याद अघिनै निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताए। उनले भने, असार मसान्तभित्र पुलको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ। हालसम्म ८० प्रतिशत काम सम्पन्न गरेका छौं।
जेठभित्र पुलमाथिबाट सवारी साधन ओहोर–दोहोर हुन्छ। चार वर्षभित्र सम्पन्न गर्ने गरेर आशिषले १६ करोडमा पुलको ठेक्का लिएको थियो। पुल अनुगमनका क्रममा उपसभापति खड्काले पुलदेखि मुख्य सडकसम्मको पहुँच मार्गका विषयमा चासो राखेका थिए। यस्तै, खड्काले मेहलकुना अस्पतालको पनि अनुगमन गरेका छन्। अनुगमनका क्रममा अस्पतालको ५० बेडको भवन निर्माण कार्य सुस्त भएको बताउँदै उनले ठेक्का तोडेर नयाँ प्रक्रियामा जान निर्देशन दिए।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि तेस्रोपटक अनुगमनका पुगेका खड्काले संघीय आयोजना कार्यान्वयन एकाइलाई नयाँ प्रक्रियामा गएर चाँडो अस्पताल निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन्।
खड्काकै पहलमा २०७२ सालमा मेहलकुना अस्पतालको स्तरोन्नति गरेर ५० शय्याको बनाइएको थियो। पूर्वी सुर्खेतसहित रुकुम, जाजरकोट, सल्यान, डोल्पालगायतका जिल्लाका सेवाग्राहीहरूलाई लक्षित गरेर ५० शय्याको अस्पताल भवन निर्माण सुरु गरिएको हो।
उनले भने, ‘अहिलेको निर्माण व्यवसायीबाट भवन निर्माण समयमै हुने देखिएन्, नयाँ प्रक्रियामा तत्कालै जानुहोस्।’संघीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर रामकृष्ण आचार्यले पटक–पटक म्याद थप्दा पनि भवन निर्माणको कामले गति नलिएको बताए।