चिसो बढेपछि बेंसी झरे गोठाला
बागलुङ : हिउँदमा बेंसी झर्ने र बर्खामा लेक चढ्ने त ढोरपाटन क्षेत्रका गोठालाहरूको परम्परा हो। जेठको अन्तिम सातादेखि असारसम्म ढोरपाटनको बुकी क्षेत्रमा जाने गोठालाहरू चिसो बढेसँगै बेसी (गाउँ) झरेका छन्।
गोठालाहरू बेंसी झरेपछि अहिले ढोरपाटन शिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान बनेको छ। गर्मी महिनामा गाउँ छोडेर बुकी र ढोरपाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोवाङ्, निसी, देवीस्थान, बुर्तिवाङ झरेपछि गाउँमा चहलपहल बढेको छ। बुकी र ढोरपाटन क्षेत्र सुनसान भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए।
गर्मी महिनामा बुकी, मध्यम मौसममा ढोरपाटन उपत्यका र जाडो मौसममा गाउँ क्षेत्रमा गोठालाहरू वस्तुभाउसहित आउने–जाने गर्छन्। जेठ पहिलो साता बुकी जाने गोठालाहरू करिब ६ महिना अस्थायी टहरा निर्माण गरी समय विताउँछन्।
चिसो बढेपछि उनीहरू वस्तुभाउ लिएर बेंसीतर्फ झर्ने घट्टेचौरका पशुपालक भीमबहादुर विकले बताए। ‘घरबाट निस्कने बेलामै ६ महिनालाई पुग्ने खर्च लिएर जान्छौं’, विकले भने, ‘बुकी गएपछि हतपत फर्कने कुरा हुँदैन।’ उनले कुनै आकस्मिक समस्या र बिरामी परेमा साथी गोठालाहरूलाई आफ्ना पशु हेर्ने जिम्मेवारी दिएर गाउँ फर्कने गरेको बताए।
गोठालाहरूले ६ महिनाको अवधिमा हुने पशुजन्य उत्पादन दूध, घ्यू तथा मासुलाई सुकुटी बनाउँछन्। उक्त समयमा बुकी क्षेत्रमा जन्मने पाडा, बाच्छा तथा पाठापाठी गाउँ फर्कने बेलामा हुर्किसक्ने कृषक विकले बताए।
यस वर्ष जाडो सुरु भएपछि गोठालाहरूको घुम्ती बसाइ गाउँमा झरेको छ। हरियो घाँस सकिँदै जाने र जाडो सुरु भए पछि सबै वस्तुभाउ लिएर ढोरपाटन उपत्यकाबाट झर्नेे गरेको ढोरपाटन पाखाथरका पशुपालक डिल्ली भण्डारीले बताए।
वडाध्यक्ष घर्तीका अनुसार पहिले बुकीमा जाने गोठालाहरूले वडा कार्यालयलाई तिरो (चुङ्गी कर) तिर्ने चलन भएपनि अहिले हटाइएको बताए। ‘पहिले कृषकहरूले एउटा गाईभैंसीको पचास र एउटा भेडाबाख्राको पाँच रुपियाँ तिरो वडा कार्यालयलाई तिर्नुपर्ने नियम थियो, वडाध्यक्ष घर्तीले भने, ‘म वडाध्यक्ष भएपछि कृषकलाई चरन क्षेत्रको तिरो लिने नियम हटाएको छु।’
ढोरपाटन क्षेत्रबाट गोठालाहरू गाउँ झरेपनि विद्यार्थीका अभिभावक, शिक्षक कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्ने स्थानीयहरू भने अझै त्यहीँ छन्। हिउँदको बाली लगाउन गाई, भैसी, भेडा लिएर तल झरेका किसान बैसाखमा फेरि बुकी जान्छन्।
बुकीबाट झरेका वस्तुभाउलाई गोठालाहरूले मलको लागि बारीमै छोड्छन्। मल पुगेपछि खनजोत गरेर हिउँदे बाली (गहुँ, जौ, फापर) लगाउने गरेको वडाध्यक्ष घर्तीले बताए।