मैदान नहुँदा खेलाडीलाई समस्या

मैदान नहुँदा खेलाडीलाई समस्या

जाजरकोट : जाजरकोट सदरमुकाम खलंगामा खेल मैदानको अभाव छ। मैदान अभावका कारण खेलकुद विकासमा पनि असर परेको स्थानीयको गुनासो छ। जिल्ला सदमुकाममा मात्र होइन, जिल्लाका ग्रामीण क्षेत्रमा पनि मैदान नहुँदा खेलकुदको विकासमा अवरोध पुगेको छ।

जिल्लामा अहिलेसम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन। मैदान नहुँदा खेलाडीलाई निकै समस्या हुने गरेको भलिबलका राष्ट्रिय खेलाडी तुफान श्रेष्ठले बताए। ‘खेलाडीका लागि आवश्यक पर्ने खेल मैदान नै छैन। अनि कसरी खेल विकास गर्न सकिन्छ ?’, उनी प्रश्न गर्छन्। जिल्ला सदरमुकाम खलंगामा कुनै पनि खेलको संरचना छैन। सदरमुकाम खलंगास्थित गैरीखालीमा रहेको भलिबल कोर्ट खलंगा जुम्ला सडक निर्माणका क्रममा बाटोमा परेको थियो। भलिबल कोर्ट हुँदा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सफल मानिएको जाजरकोट पछिल्लो समय ओझेलमा परेको छ। सदरमुकाम भिरालो डाँडोमा भएकाले पनि खेल मैदान बनाउन समस्या भएको हो। पहिले खेलकुदका लागि सार्वजनिक जग्गा छुट्याइएन अहिले जताततै बस्ती बसिसकेको छ। स्थानीय रमेश चन्दले खेलकुदका लागि कसैले चासो नदिँदा समस्या भएको बताए। यस क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै ब्यापार व्यवसाय पनि फस्टाउने र अन्य पहाडी जिल्लालाई सजिलो हुने भएकाले जाजरकोटमा खेल मैदान बनाउन जरुरी रहेको भलिबलका अर्का राष्ट्रिय खेलाडी गणेश विष्टले बताए।

२०७४ मा आफ्नै दुई रोपनी तीन आना जग्गामा इन्डोर कभर्डहल निर्माण सुरु भएपछि बजेट अभाव र सम्बन्धित निकायको बेवास्ताका कारण निमार्ण रोकिएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिए। ‘खेल मैदान निर्माणका लागि संघ र प्रदेशले कुनै चासो दिएका छैनन्। जाजरकोटबाट मात्रै अहिलेसम्म १३ जना खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन्। दुई जना खेलाडीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन्। मैदान अभावमा खेलकुद प्रतियोगिता नहुँदा खेलाडी उत्पादन हुन सकेका छैनन्’, उनी भन्छन्। 

क्रिकेट, फुटबल, भलिबललगायतका खेलका मैदान नहुँदा प्रतियोगिता गराउनु पर्दा खलंगास्थित त्रिभुवन माविको मैदानमा गराउन बाध्य हुनुपरेको छ। पढाइमा अवरोध हुने भएकाले विद्यालय प्रशासनले पनि मैदान सजिलै उपलब्ध नगराउने जाजरकोट युवा क्रिकेट क्लबका अध्यक्ष अनिश कार्कीले बताए। भेरी नगरपालिकाको पहल र कर्णाली प्रदेश सरकारको बजेटमा भेरी नगरपालिका—१३ कुदुमा सबै खेल खेल्न मिल्ने रंगशालाका लागि डीपीआर तयार भएको थियो। तर, बजेट अभावका कारण निर्माणको काम अघि बढ्न सकेको छैन।

जिल्लामा खेल मैदान निर्माण गर्न सकिएमा यस क्षेत्रका खेलाडीलाई निकै ठूलो राहत हुने स्थानीयहरूको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.