यती एयरलाइन्स विमान दुर्घटना : काठमाडौं ल्याइएका ४८ शवको पोस्टमार्टम हुँदै
काठमाडौं : यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये काठमाडौं ल्याइएका शवको पोष्टमार्टम भइरहेको छ।
पोखराबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएका ४८ वटा शवको परीक्षण भइरहेको अस्पतालले जनाएको छ । शव पहिचानमा कठिनाइ भएकाले डीएनए परीक्षण गरेर आफन्तजनलाई बुझाउने तयारी गरिएको छ ।
चालक दलका सदस्य,पहिचान नखुलेका र विदेशी नागरिकको शव काठमाडौं ल्याइएको हो। सेनाको हेलिकोप्टरबाट शव काठमाडौं ल्याएको हो।
मृतकका आफन्तलाई आवश्यक जानकारी र समन्वय गर्न शिक्षण अस्पतालमा प्रहरीको सहायता कक्ष स्थापना गरिएको छ ।
उक्त दुर्घटनामा परि ज्यान गुमाएकामध्ये २२ जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरिएको थियो । विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म ७१ जनाको शव फेला परेको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको एती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलका ४ सदस्यसहित ६८ यात्रु सवार थिए। दुर्घटनामा १५ विदेशी नागरिकको मृत्यु भएको छ।