कर्णाली प्रदेशको उपसभामुख बनिन् यशोदा न्यौपाने
सुर्खेत :कर्णालीको उपसभामुखमा माओवादी केन्द्रका सांसद यशोदा न्यौपाने विजयी भएकी छन् । प्रदेशसभामा बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्राकुमारी शाहीलाई हराउँदै न्यौपाने उपसभामुख बनेकी हुन् ।
सत्तारुढ माओवादी केन्द्रले न्यौपानेलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । कालिकोटबाट समानुपातिक सांसदमा निर्वाचित न्यौपानेलाई सत्तारुढ दलका सांसदले मतदान गरेका हुन् ।
प्रदेशसभाको बैठकमा भएको मत विभाजनमा न्यौपानेले २४ मत प्राप्त गरिन् । प्रदेशससभामा रहेका ४० सांसदमध्ये २४ जना सांसदले उनलाई मत दिएका हुन् । उनलाई एमालेका ९,माओवादीका १३,एकीकृत समाजवादीका र राप्रपाका एक–एक जना सांसदले मत दिएका हुन् ।यस्तै, कांग्रेसको तर्फबाट उपसभामुखको उम्मेदवार बनेकी इन्द्राकुमारी शाहीले भने १४ मत मात्र प्राप्त गरिन् । मतदानमा प्रदेशसभाका ४० मध्ये ३८ जना सांसद सहभागी भएको सभामुख नन्दा गुरुङ्गले जानकारी दिइन् ।
प्रदेशसभामा जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले कसैको पक्षमा पनि मतदान नगरी तटस्थ बसे । यस्तै सभामुख नन्दा गुरुङ्ग पनि तटस्थ बसेका कारण मतदानमा ३८ जना सांसद मात्र सहभागि भए । उपसभामुख चयनका लागि बुधबार नै मनोनयन दर्ता भएको थियो ।
न्यौपाने निर्वाचित भएसँगै कर्णाली प्रदेशसभाको सभामुख र उपसभामुख दुबै पद महिलाले पाएका छन् । यसअघि एमालेकी नन्दा गुरुङ्ग सभामुख बनिसकेकी छन् । उपसभामुखमा विजयी न्यौपानेको प्रस्तावकमा माओवादीका सांसद कृष्णबहादुर जिसी र समर्थकमा एमालेका सांसद विनोदकुमार शाह रहेका थिए ।
यस्तै कांग्रेसबाट उपसभामुखको उम्मेदवार बनेकी शाहीको प्रस्तावकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र सांसद जानकी सिंह समर्थक रहेका थिए । शाही दैलेखबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् ।
प्रदेशसभामा माओवादीका १३,एमालेका सभामुखसहित १०,राप्रपा र एकीकृत समाजवादीका एक–एक जना सांसद छन् । यस्तै प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १४ जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।
कर्णालीमा एमाले र माओवादीबीच सत्ता सञ्चालनका लागि भागबण्डा भएको छ । भागबण्डा अनुसार नै यसअघि सभामुखमा एमालेका नन्दा गुरुङ्ग चयन भइसकेकी छन् । भागबण्डा अनुसार नै प्रदेशसभाको उपसभामुख माओवादीले पाएको हो ।