जब छोराको उपचारबाट थाके मैनबहादुर

प्रस्तुति : राजकरण महतो

जब छोराको उपचारबाट थाके मैनबहादुर

तपाईंको नाम के हो ?

मैनबहादुर शाही राउटे।

उमेर कति भयो ?

हामी ७० वर्ष बढी पुग्या हौं।

घरचाहिँ कहाँ पर्छ ?
चुप्रा। दैलुख(दैलेख)को तलछेउको चुप्रा बजार छ नि, हो त्यहीँमाथिको थुप्रा(डाँडा)मै बसेको हो।

अस्पताल किन आउनुभयो ?
छोरोलाई आगोले पोलो के। ११ दिन भयो। यहीँ भर्ना गर्‍या हुँ। 

छोरोको नाम के हो ?
नारायणबहादुर शाही।

छोरोको जीउ कसरी जल्यो ?
कसोरी यस्तो भयो भने आगोलागीले भयो। सप्पै पोल्यो। ढाडदेखि मुखसम्म पोल्यो। जति दबाई हाले पनि लाग्दैन। हुँदैन।

यहाँ कसलाई खोज्दै हुनुहुन्छ ? 
भान्जीले छोरोलाई ल्याउन गएको छ। छोरो लान्छौं। 

  •     छोराको सास घरमा पुग्यो भने पनि भयो। नभए मरेकै भएपनि लैजानु पर्‍यो।
  •     ओड्ने ओछ्याउनेमै आगो लाग्यो। त्यो आगो लागेको कसैले थाहा पाएन। छोराको भाग्य मै त्यही लेखेको रछ।
  •     जति राखे पनि मेरो छोरो बाँच्दैन भन्ने म हुँ। मैले चिनिसक्याँ।
  •     काठमाडौंमा छोरो खत्ताम भयो भन्या त ममी(आमा) दुनिले छोरो हेर्नै पाउँदैन।

निको भयो ?
छैन। छोराको सास घरमा पुग्यो भने पनि भयो। नभए मरेकै भएपनि लैजानु पर्‍यो। यहिँ खत्तम हुन्छ त बसालेपछि। यहिँ खतम नगराउने। आफ्नो घर पुर्‍याउने भनिकन आजै लैजाने भनेको।

अस्पताल आएको कति दिन भयो ?
(औंलाले गन्दै) ११ दिन भयो।

कसरी आगलागी भयो ?
छोरो जहानसहित सुतेको। ओड्ने ओछ्याउनेमै आगो लाग्यो।  त्यो आगो लागेको कसैले थाहा पाएन। छोराको भाग्य मै त्यही लेखेको रछ। 

तपाईंका कतिजना सन्तान ?
हुन त त्यही एउटै छोरो हो। 

छोराको विवाह भएको थियो ?
बुहारी छ नि। उसको नाम म अहिले बिर्सिइ हालेको।

नातिनातिना छन् कि छैनन् ?
छैनन्।

आगो बालेर सुत्नुभएको थियो ?
हामीले आगो बालेको थिएन। छोरो सुतेको थियो उसले कहाँबाट आगो बाल्नु ? बुहारीले पनि आगो बालेनौं भन्यो। सल्लाको झाउरो सल्क्यो होला। त्यसैको झिल्को खस्या होला। छोरोले ओड्ने कपडामा खस्या होला। जल्या होला।

कति बेला आगलागी भयो ?
मलाई बजेको थाहा हुँदैन। मध्य रातमा हो।

राति नै अस्पताल लैजानुभयो ?
दैलेखको अस्पताल ल्याएको हो। निको भएन। सुर्खेत लैजानु भन्यो। सुर्खेत उपचार गर्न लगियो। त्यहाँ पनि भएन। त्यहाँबाट सार्दै–सार्दै काठमाडौं पुर्‍याइदियो। (हात फैलाउँदै) यति टाढा।
 
कति खर्च लाग्यो ?
कति लाग्यो। मलाई थाहा छैन। सरकारलाई थाहा होला। मसँग पैसो हुँदैन।

छोरोको बारेमा हस्पिटलले के भन्यो ?
हस्पिटलले के भन्नु ? हस्पिटलले राख्ने भन्छ। आजसम्म उसले केही इसारा गरेको छैन, न बोल्छ। जति राखेपनि मेरो छोरो बाँच्दैन भन्ने म हुँ। मैले चिनिसक्याँ।

किन घर लान खोज्नुभयो ?
बोलेको मेरा कानले सुन्याँ छैन। यसो गरी अस्पताल बसी के गर्नु र ? बसालेर के गर्नु ? काठमाडौंमा छोरो खत्तम भयो भन्या त ममी(आमा) दुनिले छोरो हेर्नै पाउँदैन। यहाँ खत्तम भयो भने के गरौंला भनेर आफ्नै घरमा मरिजाला भन्छौं। भगवान्को कृपा, बाँच्ये भने त ठीकै छ। पक्का कुरो चाहिँ बाँच्दैन। आमालाई छोराको मुख देखाउँ भनेर लैजान लागेको।

तपाईंकै छोरोलाई जस्तो अरुलाई पनि भएको छ ?
छैन। मेरो छोरोलाई मात्रै। अब लामा कुरा गरेर हुन्न। तपाईं डाक्टर हो ? 

आगोमा के–के क्षति भयो ?
छोरो जल्यो। बुहारीको खुट्टा जल्यो। ओछ्यान खरानी भयो। बुहारी र छोरोको २४ हजार भत्ता सबै जलो। खतम भया।

सरकारलाई के भन्नुहुन्छ ?
छोरो पनि अब खरानी नै हुन्छ। छोरा–बुहारीको भत्ता जलेर खत्तम भइगो। पाल पनि जल्यो। खानेकुरा पनि जल्यो। सरकारले पठाएको सवै सामान आगोले खरानी बनायो। 

परिवार कसरी चलेको छ ?
के गरेर परिवार चल्याउना हो र ? हामी पहिला काठको प्रयोग गरेर खान्थेम। पछि सरकारले भत्ता दिन थाल्यो। काठको प्रयोगमा दुःख हुन्छ। हामी अहिले जंगलबाट दाउरा, काठ मात्रै ल्याउँछौं। कोसी(काठको भाँडाकुँडा) बनाउने काम गर्छौं।
  
छोरालाई कसरी हुर्काउनुभएको थियो ?
कसोगरी हुर्काउन्याँ हो र ? जन्मेयाँपछि दूध खुवायौं। हुर्कायौं। त्यहाँ पछि अलि ठूलो भयो। अनि दूध–भात खुवायौं। यस्तोरी छोरो हुर्कायौं। त्यहाँभन्दा अघि ठूलो भयो भातसित मासु खुवायौं।

अन्न कहाँबाट आउँछ ?
बजारबाटै ल्याउँछ।

  • आगोमा परी सख्त घाइते छोरोलाई दैलेखबाट उपचार गर्न काठमाडौं ल्याएका थिए मैनबहादुरले निको नहुने छनक पाएपछि छोरो लिएर काठमाडौंबाट हिँडे घरतिर 
  • तर, अस्पतालबाट हिँडेको एक घण्टापछि नै सहनुपर्‍यो सन्तान वियोग 

तपाईं गाउँको मुखिया पनि हो ? 
म होइन। गाउँको मुखिया सूर्यनारायण घरमै छ।

तपाईं चाहिँ ? 
म चाहिँ पुरानो मुखिया। 

काठमाडौंबाट घर पुग्न कति टाइम लाग्छ ?
खोई कति टाइम लाग्छ। हामीलाई थाहा छैन। निकै टाढा छ। खोइ भोली त घर पुर्‍याउला छोरालाई।

गाउँमा कति जना बस्छ ?
एक सय ४६ जना बस्छ। ४५ घर छ।

छोरालाई पढाउनुभयो ?
छैन पढाएको।

त्यहाँ बच्चाहरूलाई स्कूल पठाउने चलन छैन ? 
अँह, स्कूल कसैलाई पठाउँदैन। मैले नपठाएको मात्रै हो र ? सप्पैले पठाउँदैन। हामी नपढेरै बुढो भइगो। कसैले पढ्दैन। पहिलादेखि हामी नपढेको। अहिले हामीले बच्चालाई पढायौं भन्याँ कुरा सक्यो नि। दाउराबाट कोंसी बनाउँछ, गाउँ गएर दिन्छ। खान्छ। 

कतिमा कोसी बिक्छ ?
कोसी बेचेर कोसीभरी चामल ल्याउँछ। कोसीसँग चामल साट्छ। त्यो चामल ल्याएर खान्छ। हामीहरूको कामै यहि हो।

बच्चा जन्माउन कति अस्पताल जान्छन् ? 
बच्चा जन्माउन त अस्पताल जाँदैनन्। जसरी मान्छेको प्राण लेखिएको छ त्यसरी नै भगवानले नै मान्छे जन्माइदिन्छ। मान्छेले गरेर मान्छे जन्मिने हो र ? हुँदैन। 

बिरामी पर्दा हस्पिटल कोही जाँदैनन् ? 
एक दुईजना जान्छ। मेरा बुढीका परार खुट्टामा घाउ भयो। त्यो बेलामा म पनि गएँ। सप्पै घाउ थियो। खुट्टा चिरफार बनाइकन हाम्रो श्रीमति राम्रो भयो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.