राजनीतिक संस्कृतिको विचलन
पदका खातिर निष्ठाको विनिमय हुन भइरहेको छ। त्यसैकारण राजनीति अत्यन्तै प्रदूषित र फोहोर हुन पुग्यो।

समाज चलायमान र सशक्त छ। राजनीतिप्रतिको जनलगाव र सहभागिता उच्च स्तरमा छ। अकस्मात तख्तापलट र सैनिक विद्रोहको प्रवृत्ति हाम्रोमा छैन। आम जनतालाई शक्तिको भय देखाएर शान्त राख्ने प्रयत्न भएको पाइँदैन। साम्प्रदायिक सद्भाव र मेलमिलाप पनि कायमै छ। निर्वाचनमा व्यापक मतदान हुन्छ। जनतामा सुशासन र सामाजिक अनुशासनप्रति चासो र सरोकार पनि देखिन्छ। तथापि राजनीतिक संस्थाहरू निकै कमजोर छन्। सुशासनको प्राप्ति टाढाको फल प्रतीत हुन्छ। देशमा एउटा नवीन वर्गको जन्म भएको छ। अभिजात्य जनवाद या भनौं लोकतान्त्रिक अभिजात्यवादको अभ्युदय भएको छ। जुनसुकै राजनीतिक दलले जुनसुकै दलसँग गठबन्धन गरिरहेका छन्। राजनीतिक संस्कृतिको बीभत्स रूप प्रकट भइरहेको छ।
आपसी मतैक्य र मतभिन्नता मानवीय विशेषता हो। त्यही अनुरूप राजनीतिक दलहरूको निर्माण हुन्छ। राजनीतिक दलहरूले आफूले अंगीकार गरेको मूल्यको जगेर्ना गर्ने प्रयास गर्नु स्वाभाविक हो। लोकतन्त्रमा विपरीत मूल्यप्रति अपमान नभई शालीन अस्वीकार हुन्छ। विरोधी विचारधारालाई अंगीकार गरिँदैन तापनि समुचित सम्मान र सहनशीलता राखिन्छ। तर यहाँ आफ्नो मौलिक विचारधारालाई किनारामा राखेर केवल भोट र सत्ताका लागि गठजोड गर्न थालिएको छ।
पदका खातिर निष्ठाको विनिमय हुन थालेको छ। राजनीति अत्यन्तै प्रदूषित र फोहोर हुन पुग्यो। राजनीतिक कार्यकर्ताहरू पनि स्वार्थी र छाडा हुन थाले। अहिले सम्पूर्ण राजनीति संसर्ग दोषको भुमरीमा परेको छ। राजनीतिमा इमान हरायो। बोलीको ठेगान हरायो। राजावादीले कम्युनिस्टको भोट लिएर चुनाव जित्ने बाटो रोज्न थाले। माओवादीले प्रमुख दुश्मन भनेर घोषणा गरेको कांग्रेससँग घाँटी जोडेर सत्ताको मह चाटिरहेको छ। यो राजनीतिक संस्कृतिमा भिœयाइएको अत्यन्तै विकराल आयाम हो। यस्तो भएकै कारणले गर्दा पार्टीको परिचय विलुप्त भएर व्यक्तिहरू हाबी हुन पुगे।
राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने कुरा साँचो हो। तर यहाँ त अवसरवाद हाबी भयो। पद्धतिभन्दा लफ्फाजीको स्थान उच्च भयो। यहाँ सर्वोच्च न्यायालयको प्रमुखको अकर्मण्यता र नकामका लागि राजनीतिले बयान लिने परिस्थिति निर्माण भयो। परन्तु जति प्रश्न गर्दै गयो त्यति नै आफै निर्वस्त्र हुँदै गयो। जति प्रश्न गर्दै गयो, त्यति नै प्रश्न गर्ने र उत्तर दिने दुवैको पोसाक च्यातिँदै गयो। यो घटनाले एउटा फाइदा भएको छ। यहाँ एक एक गर्दै सबैको पोल खुल्यो। नेपालका सर्वोच्च संस्थाहरू कसरी चल्दा रहेछन् भन्ने कुरा छताछुल्ल भयो। परिस्थिति यस्तो छ कि कुनै पनि प्रज्ञावान् र शिलवान् मानिसले म फलानो संस्थासँग आबद्ध छु भनेर गौरव गर्ने अवस्था नै रहेन। यहाँ प्रत्येक स्वाभिमानी मानिसको शिर निहुरेको छ।
कानुन निर्माण गर्ने संसद्, संविधानको मर्मको जगेर्ना गर्दै मुलुकमा न्यायको भरोसा दिलाउने जिम्मेवारी पाएको न्यायपालिका, शान्ति सुरक्षा र जनताको ज्यानधनको सुरक्षाको जिम्मा लिएको सुरक्षा निकाय एवं देशको समृद्धि र सेवा प्रवाहको जिम्मेवारी लिएको निजामती सेवाको जग चर्मराएर ढले सरी छ। यहाँ बहालवाला अन्य न्यायाधीशहरूले प्रधान न्यायाधीशको पोल खोलिदिन्छन्। निलम्बित बहालवाला प्रधानन्यायाधीशले अन्य न्यायाधीशहरूलाई निर्वस्त्र पारिदिन्छन्।
यहाँ राजनीतिले त कुबाटो लियो नै, संविधान जोगाउने जिम्मा लिएको संस्थासमेत धराशायी भयो। हाम्रो पद्धतिले प्रधानमन्त्री स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्छ भनेको छैन। स्वतन्त्रता, निष्पक्षता र सक्षमताको आशा त न्यायपालिकासँग गरिएको थियो। अत्यन्तै विद्वान, विवेकी र अनुभवी व्यक्ति देशको प्रधानन्यायाधीश हुनेछ भन्ने संवैधानिक भरोसामाथि राजनीतिले नै तुषारापात गरिदियो। राजनीतिले न्यायालयमा पनि आफूजस्तै मानिस खोजेर राख्दाको परिणाम हो यो। राजनीति आफ्नो मार्गबाट ‘डिरेल’ भए तापनि अन्य संवैधानिक संस्थाहरूले लोकतन्त्रको जगेर्ना गर्नेछन् भन्ने विश्वासमाथि निर्मम कुठाराघात भयो।
राजनीतिमा इमान हरायो। बोलीको ठेगान हरायो। राजावादीले कम्युनिस्टको भोट लिएर चुनाव जित्ने बाटो रोजे। माओवादीले प्रमुख दुश्मन भनेर घोषणा गरेको कांग्रेससँग घाँटी जोडेर सत्तााको मह चाटिरहेको छ।
के यो देशमा प्रज्ञा, शील र अनुशासनको अवसान नै भएको हो ? तर विडम्बना ! यसको उत्तर दिने पनि कोही बाँकी रहेन यहाँ। अरू देशले प्रविधि, प्रज्ञा र प्रतिभाको आयात गरेर त्यो ज्ञानबाट निर्मित सामान र सेवा निर्यात गर्छन्। हाम्रो देशले प्रज्ञा, ज्ञान र शिल्पको निर्यात गरेर भौतिक सामग्री किन्छ। प्रज्ञा, शिल्प र शीलले झोला बोक्दैन, दौराको फेरो समातेर नेहोरा गर्दैन। प्रज्ञाले प्रगतिको माग गर्दछ। यहाँ रहेसहेको प्राज्ञिक र प्राविधिक क्षेत्र पनि निष्पक्ष र निर्लोभ हुन सकेन। स्वाभिमानी प्रज्ञाले यथोचित स्थान प्राप्त गर्न पाएन। राजनीतिले विद्या र विज्ञान चिन्ने चेष्टा नै गरेन। सामाजिक सञ्जालका भित्ताहरू नकारात्मकताका पुञ्ज बने। मन परेन कि खारेजै गरिदिने, निन्दा र उपहासमा रमाउने संस्कृति झांगिँदै गयो। सहनशीलता र शालीनता बेमाख भयो।
वामपन्थी नेताहरू नै एकले अर्कोलाई श्राप दिन थाले। लाइनमा लागेर सेवा लिनुपर्छ भन्ने सुरक्षा गार्डलाई अभद्रताको आरोपमा गिरफ्तार गरियो। मन्त्री पद जति अपमान र उपहासको विषय हुँदै गयो, त्यति नै सो पदप्रति लालसा बढ्दै गयो। अदालत र अख्तियारमार्फत कसैसँग बदला लिने र कसैलाई सुनपानी छर्ने चलन चल्यो। अख्तियारजस्तो संस्थालाई ‘सिलेक्टिभ’ भएर कारबाही गर्ने या चोख्याइदिने गरेको आरोप लाग्यो। कुनै पर्दा रहेन, सबै छताछुल्ल भयो। सारा मामिला यसरी गोलमोल भयो कि ‘सारे भेद खुल गए राजदार ना रहा’ भन्ने हिन्दी फिल्मी गाना चरितार्थ भयो।
राजनीति गर्नेहरू सबै भातका भकारी हुन् भन्ने भाष्य नै तयार भयो। को असल, को खराब सबै एउटै घानमा परे। आज देशको राजनीतिक संस्कृति फेरि समेटेर ट्र्याकमा ल्याउन कठिन हुने किसिमले विचलित हुन पुगेको छ। असफल खेलाडीले समेत ‘देशले मलाई प्रधानमन्त्री रूपमा देख्न चाहेको छ’ भनेर घोषणा गर्न भ्याए। कसैलाई ‘सात पटक प्रधानमन्त्री बन्नेछौ’ भन्ने ज्योतिषीको वरदान प्राप्त छ।
कसैका छोरीलाई ‘मेरा पिता प्रधानमन्त्री हुन पाए भने कसैले पनि कटौरो लिएर भिख माग्नुपर्ने छैन।’ भन्ने दम्भ छ। यहाँ टोलटोलमा राष्ट्रचिन्तन हुन्छ। कुनै नेतालाई एक वयोवृद्धले ‘सुखी छौ ? ’ भनेर सोधेछन्। उत्तर आयो रे ‘सुखी छु कि छैन थाहा छैन, तर सुखी हुने साधन किन्ने तागत छ मसँग।’ एक मौरीपालक किसानको शब्दमा ‘सांसदहरू नेपालका भाले मौरी हुन्। बस्यो, ढलिमली गर्यो, खायो।’ कथित ठूला नेताले गरेको भाषणले भन्छ ‘खिसिट्युरी गर्ने तत्त्वहरूको हरिबिजोग थाहा हुनेछ। घमण्डको पोको भएकाहरूको रावणको नास भएजस्तै, होलिका दहन भए जस्तै दहन होस्।’
राजनीतिको खेल मैदानमा अनुशासनको घनघोर खडेरी छ। यस्तो अवस्थामा सुपात्रको खोजी गरेर कहाँ पाउनु। राजनीति आज ‘बेसरम अखडामा राजनेताको खोजी’ जस्तो हुन पुगेको छ। डँढेलोले खाएको बुट्यानमा शीतल छहारी दिने वृक्ष कहाँ पाउनु। पात नलाग्दै मुर्झाएका मुजुराजस्ता युवा नेतामा राजनेताको छवि कहाँ पाउनु। छिर्के हानेर उत्तानो पार्नु मात्र राजनीति हो भन्ने बुझेका वृद्ध नेताहरूमा शील र मर्यादा कहाँ पाउनु। ‘राजकुमार दिक्पाल’शीर्षकको दन्त्यकथा जस्तो भयो हाम्रो राजनीति। भित्तामा झुन्डिएका टाउकाहरू नयाँ टाउको आउँदा ‘लौ अर्को साथी थपियो’ भनेर अट्टहास गरे जस्तो। नयाँ दलका नेताहरूमा देखिएको शक्तिको प्यास पनि अवर्णनीय छ । केही गर्लान् कि भनेर भरोसा गरिएका युवकहरू पनि विकृतिको मूल प्रवाहमा प्रवाहित हुने सम्भावनालाई नकार्न सकिने अवस्था छैन।
यहाँ अनेकौं विसंगति र विकृति छन्। कुनै उब्जेका र कुनै उब्जाइएका। एउटा हटाउन खोज्यो अर्को सुरु हुन्छ। जीर्ण घरको भत्केको एउटा पाखो मर्मत गर्न खोज्यो, अर्को भत्किन्छ। यस्तो रोग, जो हातबाट हटायो, खुट्टामा गएर बल्झिन्छ। राजनीतिक संस्कृतिका दुई आयाम हुन्छन्। एउटा हो लक्ष्य र अर्को हो पद्धति। राजनीतिको लक्ष संगठित एवं सुदृढ सामाजिक व्यवस्था र आर्थिक समृद्धि हो। त्यो लक्ष्य हासिल गर्ने सम्यक तरिका पद्धति हो । संविधानले आर्थिक, सामाजिक र सामुदायिक समुन्नतिको लक्ष्य र त्यसलाई हासिल गर्ने पद्धति पनि तोकेको छ। परन्तु हाम्रा नेताहरूलाई संविधानको धारा ७६ सँग मात्र सरोकार छ। त्यसमा पनि स्वेच्छाचारी तवरले आत्मनिष्ठ व्याख्या गर्ने अनेक प्रयत्न भएका छन्।
मुलुकले देश र विदेशमा व्यक्तित्व हासिल गरेको नेता नै पाउन सकेन। बीपीसँग प्रज्ञा, सम्पर्क र अन्तर्राष्ट्रिय छविसमेत थियो। गणेशमानमा त्याग, साहस र दृढता थियो। कृष्णप्रसाद भट्टराईसँग सन्त व्यक्तित्व, सहनशीलता र इमान थियो। मनमोहन सादगी र सदाचारका प्रतीक थिए। सुशील कोइरालामा अरू केही नभए तापनि लोकतन्त्रप्रति निष्ठा र समर्पण थियो। गिरिजाप्रसादको पहाडजस्तो व्यक्तित्व र अडानलाई जीवनको अन्तिम समयमा पदलोलुपताले निमिट्यान्न पारिदियो। वर्तमान कालमा पनि आशालाग्दा नेता नभएका होइनन्, तर प्रायः सबै विचलित भएर गए। कसैले सिद्धान्त पोलेर खाए काँचै। कसैले सिद्धान्त जानेनन्, पार्टी र नेताको नाम मात्र जाने। समाजवाद जस्तो अमूर्त कुरा त के, उदारवाद र लोकतन्त्र के हो भन्ने कुरासमेत न कसैले सिकाए न कसैले सिक्न खोजे।
अन्त्यमा– राजबन्दी बीपी कोइरालाप्रति उपहास गर्दै श्री ३ महाराज मोहनशमशेरले भनेका थिए, ‘तिमीले भनेका होउला राज गरौंला। तिमीजस्ता भारेभुरे ठेट्नाले कराउनेबित्तिकै कसैले राज्य दिँदैन। राज्य गर्नको निम्ति (आफ्नै निधार देखाउँदै ) पुर्पुरोमा लेख्नुपर्छ।’ हाम्रा वर्तमान नेताहरूले भने आपसमा मिलेर एकले अर्काको ललाटमा राजयोग लेखिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
