फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक पारित
फिदिम : फिदिम नगरपालिकाको १२औँ नगरसभाले ‘फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक २०७९’पारित गरेको छ। नगर प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न नगरसभाले उक्त विधेयक पारित गरेको हो।
नगरपालिकाको भाषा, लिपि, लोककला, लोकसंवाद, साहित्य, संस्कृतिको संरक्षण र संबर्धन गर्दै कला सहित्य र संस्कृतिको अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान विधेयक पारित गरिएको हो।
यस क्षेत्रमा समर्पित प्रतिभाहरूको खोजी, सम्मान तथा कदर गर्न कानुनी व्यवस्था आवश्यक भएकाले विधेयक पारित गरिएको नगर प्रमुख काफ्लेले बताए।
प्रतिष्ठानमा अध्यक्षसहित उपाध्यक्ष, सदस्य सचिव र एक महिलासहित दुई जना प्राज्ञ सदस्य हुने व्यवस्था छ। त्यस्तै १० जना अन्य परिषद् सदस्य हुने व्यवस्था गरिएको हो।
उक्त समितिमा फिदिम नगरपालिकामा स्थायी बसोवास गरी नगरपालिकाको मतदाता नामावलीमा नाम भएकाहरुमध्ये भाषा, लिपि, लोकवार्ता, साहित्य, ललीतकता तथा संस्कृतिमा योगदान पुर्याएका व्यक्तिहरुबाट प्रतिनिधित्व गराईने विधेयकमा उल्लेख छ।
प्रतिष्ठानको अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिव नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त बैठकले नियुक्त गर्ने विधेयकमा उल्लेख गरिएको छ।