हिउँदे वर्षा नहुँदा गहुँ सुक्दै

हिउँदे वर्षा नहुँदा गहुँ सुक्दै

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका–७ का लक्ष्मण साउदको खेतको गहुँ सुक्न थालेको छ। उनी भन्छन्, ‘कात्तिकको पहिलो साता गहँु छरेदेखि नै वर्षा भएन। सिँचाइ नहुँदा खेतमै गहुँ सुक्न थालेको छ।’ 

सुर्नया गाउँपालिका–६ का किसान लवदेव अवस्थीको चिन्ता पनि उस्तै छ। बारीको हिउँदे तरकारीका साथै गहुँ बाली सुक्न थालेको उनले सुनाए। जंगलमा पाइने हरियो घाँस र स्याउला पनि सुक्नाले गाईवस्तुलाई पाल्न पनि समस्या भइरहेको उनले बताए। अवस्थीले भने, ‘खेतबारीमात्रै होइन डाँडाकाडाँ पनि सुक्खा देखिन थाले। भोकमरीको चिन्ता छ।’

यो समस्या साउद र अवस्थीको मात्रै होइन। बैतडीमा किसानले लगाएको गहुँ सुक्न थालेपछि चिन्तामा परेका छन्। लामो समयदेखिको खडेरीले सबै हिउँदेवाली प्रभावित भएको छ। औसत वर्षा नहुन थालेपछि, आकासे वर्षाको भरमा रहेका किसान बिचल्लीमा परेका छन्। असोज तेस्रो सातादेखि सुदूरपश्चिमका पहाडमा वर्षा भएको छैन। आकासे सिँचाइको भरमा लगाएको गहुँबाली सुक्न थालेको छ।

यसवर्ष असोज १९ गतेदेखि २३ गतेसम्म लगातार ४ दिन वर्षा भएको थियो। त्यसयता सुदूरपश्चिमको पहाडमा वर्षा भएको छैन। 

कृषि विज्ञहरूका अनुसार गहुँको राम्रो उत्पादन लिनका लागि छरेदेखि काट्दासम्म कम्तीमा पनि पाँचपटक सिँचाइ गर्नुपर्छ तर आकासे पानीको भरमा रहेका किसानहरू एक पटक पनि वर्षा नभएपछि प्रभावित भएका छन्। ‘छरेदेखि एक पटक पनि वर्षा नभएकाले किसानहरूको खेतको बाली सुक्न थालेको छ। यसले उत्पादन सोचेअनुसारको हुने त कुरै भएन’, पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले भने।

सुक्खा हिउँदे फलफूलहरू पनि प्रभावित बनेको उनले बताए। ‘कम्तीमा पनि पाँचपटक गहुँको लागि सिँचाइ हुनुपर्छ तर यहाँ सिँचाइ सुविधा कम छ। हिउँदे फलफूलहरू ओखर, स्याउ, आरू, खुर्पानीलगायतका नगदेबाली पनि प्रभावित भए’, उनले भने। वर्षा नभएका कारण गहुँ र हिउँदे फलफूल उत्पादनमा यस वर्ष उल्लेख्य ह्रास आउने अवस्थीले बताए। हिउँदे फलफूलका बोटहरू पात झरेर सुसूप्त अवस्थामा रहेको र यही समयमा सिँचाइ नभए उत्पादनमा ह्रास आउने अवस्थीले बताए।  

ओखर खेतीका लागि बैतडी जिल्ला पकेट क्षेत्र हो। जिल्लाको पाटन नगरपालिका तथा सुर्नया, दोगडाकेदारर सिगास गाउँपालिका ओखर खेती गरिन्छ। सुक्खा फलफूल विकास केन्द्र र नर्सरीहरूमा हिउँदे फलफूलका बोेटहरू पनि सुक्न थालेका छन्। लामो समयदेखि वर्षा नहँुदा हिउँदे फलफूल उत्पादनमा पनि ह्रास आउने सुक्खा फलफूल विकास केन्द्र सत्बाज बैतडीका प्रमुख डम्बरसिंह भाटले बताए। ‘हिउँदे फलफूललाई चिस्यानसँगै सिँचाइको आवश्यक पर्छ, तर यस वर्ष हिउँद सुक्खा छ। फलफूल उत्पादनमा पनि ह्रास आउन सक्छ’, उनले भने। 

बैतडीमा १५ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा गहुँ खेती गरिन्छ। गत वर्ष समयमै वर्षा भएका कारण १८ हजार ४ सय ८० टन गहुँ उत्पादन भएको थियो। समयमै वर्षा भएका कारण गत वर्ष उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बैतडीका तथ्याङ्क अधिकृत मिलन कँडेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.