गुडुल्किएर धर्म कमाउँदै
भक्तपुर : स्वस्थानी ब्रतकथा (माधवनारायण ब्रत) का ब्रतालु पुरुषहरूले गुडुल्किएर धर्म कमाउने गरेका छन्। स्वस्थानी ब्रत बसेका पुरुषहरू भुइँमा पल्टिँदै विभिन्न स्थानमा पुग्ने गरेका छन्। नाङ्गो खुट्टा र नाङ्गो शरीरमा उनीहरू हरेक दिन बिहान फरक फरक सडकमा गुडुल्किँदै विभिन्न स्थानमा पुग्ने गर्छन्।
एक महिने स्वस्थानी ब्रतका क्रममा हनुमानघाटमा हुने माधवनारायण मेलामा ब्रत बसेकाहरू एक महिनासम्म दैनिक रुपमा फरक फरक स्थानमा पल्टिँदै विभिन्न धार्मिक स्थलमा पुग्छन्। उनीहरूले तिथि अनुसार फरक फरक देवतालाई जिउ नापरे जल चढाउने कर्म गर्दै आएका छन्। करिब एक दर्जनको संख्यामा रहेका उनीहरू बिहान हनुमानघाटमा भेला भएर विभिन्न तीर्थस्थलमा पल्टिँदै पुग्ने गर्छन्।
विनोद प्रजापति हरेक वर्ष आफ्ना छोराहरूसँगै ब्रतमा सहभागी हुँंदै आएका छन्। धार्मिक विश्वास अनुसार छोराहरूलाई पनि ब्रत बस्न लगाएर मेलामा सहभागी गराउँदै आएको उनले जानकारी दिए।
माधवनारायण ब्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धव खाइतुका अनुसार यो वर्ष बालबालिकादेखि वृद्धवृद्धासम्म ब्रत बसेका छन्। अध्यक्ष खाइतुका अनुसार ब्रतका क्रममा हरेक दिन सेतो पटुका को भरमा विभिन्न तीर्थस्थलको परिक्रमा गर्नुपर्दछ। यस क्रममा भक्तपुर नगरका तिलमाधवनारायणदेखि बंशगोपाल, तलेजुदेखि खोखालीनारायण इटाछें, बाकुपटीनारायण सूर्यमढीदेखि तुलाछें, हनुमानघाटदेखि चण्डेश्वरी र अन्तिम पटक ब्रत सम्पन्न हुनु एक दिन अघि चतुर्दशीका दिन टौमढी तिलमाधवदेखि विभिन्न स्थान परिक्रमा गरी तिलमाधवमै पुगेर ब्रत अन्त्य हुने परम्परा छ।
यसबाहेक ब्रतालुहरू एक महिनाको अवधिमा भक्तपुर नगरबाहेक चाँगुनारायण, पशुपति, पनौतीमा पनि नांगो खुट्टै हिंडेर पुग्छन्। भक्तपुर बाहिर जाँदा कलश बोकेर जान्छन्। ब्रतमा पुरुषसँगै महिलाहरू पनि सहभागी हुन्छन्। महिलाहरू दैनिक हनुमानघाटमै सुत्ने गर्छन् भने पुरुषहरू भने बिहान मात्रै सहभागी हुन्छन्।
हनुमानघाटका पुजारीहरूका अनुसार एक महिने ब्रतकथाका क्रममा सहभागी श्रद्धालुहरूले बिहानै श्लोक पढ्ने, हनुमानघाट खोलाको पानीमा जलशयन गर्ने, नाङ्गो खुट्टामा शरीर नापेर हिंड्नेलगायतका धार्मिक क्रियाकलापमा सहभागी हुन्छन्।
काठमाडौंको साँंखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने माधवनारायणको मेला चल्छ। संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत ७२२ देखि माधवनारायणको उपासनाको परम्परा सुरु भएको लिखित प्रमाण छ।