‘मन्त्रीको आस थियो, सभामुख बनेँ’
कर्णाली प्रदेशमा सभामुख चयन भइन् नन्दा गुरुङ। उनलाई सभामुखभन्दा पनि उनलाई मन्त्री बन्ने आश रहेछ। सभामुखमा पार्टीले छानेपछि सहर्स स्वीकार गरेको नन्दाले बताइन्।
यो जिम्मेवारीले थपले थप जिम्मेवार भएको महसुस भएको बताउँदै उनले अन्य बैठकमा बोल्दा मनमा लागेको कुरा बोल्न पाइए पनि अब नापेर मात्र बोल्नुपर्ने उनले बताए।
कर्णाली प्रदेशकी सभामुख गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश:
कर्णाली प्रदेशसभाको सभामुख निर्वाचित हुँदा कस्तो अनुभूति भयो ?
यो अवसर पाउँदा कर्णालीले नेपालमै नयाँ इतिहास रचेको अनुभूति गरेको छु। संघीय संरचना कार्यान्वयन भएपछि प्रदेशसभाको पहिलो महिला सभामुख बन्ने अवसर मैले पाएँ। मैले निरन्तर राजनीतिमा लागेर जीवनको उत्तराद्र्धमा ठूलै सफलता पाएको जस्तो लागेको छ।
सभामुख पद तपाईंको रोजाइ कि पार्टीको निर्णय ?
मलाई त सांसद भइसकेपछि प्रदेशसभाको सभामुख बन्छु जस्तो लागेको थिएन। कर्णालीमा एमाले प्रतिपक्षमा बस्ने अवस्था थियो। कर्णालीमा सरकारको नेतृत्व एमालेले पाउँछ जस्तो लागेको थियो। त्यस अवस्थामा म मन्त्री भएर जनताका आवश्यकता सम्बोधन गर्ने र कर्णालीका सम्भावनाहरू उजागर गरी समृद्ध कर्णाली बनाउने अठोट गरेकी थिए। तर, सत्ता गठबन्धनमा सरकारको नेतृत्व माओवादीले पायो। सभामुख एमालेले पायो। सभामुखमा पार्टीले मलाई छान्यो। मैले सहर्स स्वीकार गरेँ। जे भयो त्यो राम्रै भयो।
पहिलोपटक संसद् सञ्चालन गर्दा कस्तो लाग्यो ? विगतमा अन्य बैठक सञ्चालन गर्नु र यसमा के फरक पाउनुभयो ?
मैले नितान्त फरक अनुभूति गरे। विगतमा विभिन्न बैठकहरू सञ्चालन गरेको छु। राजनीतिक वा अन्य संगठनका बैठक सञ्चालन प्रक्रिया निकै फरक हुने रहेछ। मलाई त बोल्दा बढी बोल्छु कि जस्तो लाग्यो। केही बिगारिहाल्छु कि जस्तो लाग्यो।
राजनीतिक वा अन्य बैठकहरूमा बोल्दा मनमा लागेको सबै कुरा बोल्न पाइन्थ्यो। यहाँ मापन गरेर बोल्नुपर्छ। म अलि चर्को स्वरमा बोल्ने बानी परेको मान्छे। कताकता असहज लागिरहेको थियो। तर, राम्रैसँग बुधबारको बैठक सञ्चालन गरेर उपसभामुखको निर्वाचन गराइयो।
सभामुख पद संवैधानिक साझा पद हो। यो जिम्मेवारी कसरी निभाउनु हुन्छ ?
चुनावमा उम्मेदवार हुँदा पार्टीको उम्मेदवार थिएँ। संसद्मा आइपुग्दा म कुनै पार्टीको तर्फबाट आएको सांसद थिएँ। तर, अब सभामुख बनिसकेपछि मेरो जिम्मेवारी साझा बनेको छ। म सबैको बनेको छु। संविधानले दिएका अधिकारहरू प्रयोग गरी साझा भूमिका निर्वाह गर्छु। संसद्लाई मर्यादित र जीवन्त बनाउँछु। संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदहरूको भावनाअनुसार सबैसँग समन्वय सहकार्य गरेर अगाडि बढ्छु।
महिलाहरूलाई राजनीतिमा लागेर नेतृत्व लिन धेरै चुनौतीहरू छन्। राजनीतिमा महिला नेतृत्व स्थापित हुन र नेतृत्व प्राप्त गर्न कत्तिको सहज छ ?
सहज त छैन नि ! समान्यतया परिवारको अधिनमा रहेर, घरायसी काम गरेर, सन्तान हुर्काएर राजनीतिक तथा सामाजिक काम गर्न भनेजस्तो सजिलो त कहाँ छ र ? तर, पनि असहजताका बीचबाट सहज बनाउँदै अगाडि बढ्नुपर्छ। सामाजिक बन्दाबन्दै राजनीति गर्न थप संघर्ष गर्नुपर्ने अवस्था आयो।
मैले समना गरेँ। पुरुषलाई सामाजिक काम गर्न जतिबेला पनि समय हुन्छ। महिलालाई अलिकति अबेर हुँदा कुबेला हुने यस्तो परिबेसबाट अगाडि बढ्नुपर्छ। समाजले पुरुषलाई हरेक काम गर्दा बेला मान्छ, हामीलाई कुबेला। पोथी बासेको सुहाउँदैन भन्ने समाजमा हामीले नेतृत्व लिन निकै संघर्ष गर्नुपर्छ। हामीले हिँड्दा, खाँदा, बस्दा, साथी बनाउँदा, संगत गर्दा धेरै कुरा
ख्याल गर्नुपर्छ।
तपाईं वडा सदस्यदेखि सभामुखसम्म कसरी पुग्नुभयो ? विगतको राजनीतिक जीवनका कस्तो थियो ?
म २०४२ सालमा कक्षा ८ मा पढ्दै गर्दा बर्दियामा कक्षामा एकजना जयलाल अधिकारी दाइ हुनुहुन्थ्यो। उहाँले अनेरास्ववियुको बारेमा बताउनुहुन्थ्यो। विद्यालयको टिफिन समयमा खोलाछेउमा लगेर प्रशिक्षण दिनुहुन्थ्यो। हामीलाई अनावश्यक लाग्यो। सुने जस्तो गर्ने प्रशिक्षण दिँदादिँदै भाग्थ्यौँ। उहाँले पछि म तिमीहरूलाई सिकाउने तिमीहरू भने भाग्ने भन्नुहुन्थ्यो।
अनी मेरो दाइ पनि नेता हुनुहुन्थ्यो। उहाँ कार्यक्रममा जाँदा मलाई सँगै लिएर जानुहुन्थ्यो। ९ कक्षा पास गर्दा म १६ वर्षकी थिएँ। सुर्खेतमा मेरो विवाह भयो। विवाह भएको घर पनि राजनीतिक परिवार रहेछ। अनि मैले बर्दियामा विद्यालय जाँदा अनेरास्ववियु छैटौंका बारेमा प्रशिक्षण पाएको हुनाले यहाँ आएर २०४९ सालमा एमाले तिर आबद्ध भए। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडा सदस्य भएँ। मेरो श्रीमान् नेपाली कांग्रेस आस्थावान हुनुहुन्थ्यो। म नेकपा एमालेमा आबद्ध भए।
म मेरो माइतीका प्रभावले एमालेमा लागेँ। तर, मेरो श्रीमान्ले आफ्नो पार्टीमा लाग भन्नु भएन। मेरो जीवनको पहिलो निर्वाचन २०५४ सालमा वडाको निर्वाचनमा मेरो देवर कांग्रेसबाट म एमालेबाट सँगै चुनाव लडियो। मेरो ससुराले बरु छोरा हारोस्, बुहारी जितोस् भन्नु हुन्थ्यो।
श्रीमान्ले पनि ल उम्मेदवार बन भन्नुभयो। पछि देवर भाउजूले नै चुनाव जित्यौं। मेरो ससुराले देवरले भन्दा मैले चुनाव जितेकोमा खुसी हुनुभयो। पछि पार्टीको वडा सदस्यदेखि गाविस हुँदै जिल्ला सदस्य भएँ। अनेमसंघको वडा सदस्यदेखि जिल्ला अध्यक्षसम्म भएँ। हाल पार्टीको प्रदेश कमिटी सदस्य थिएँ। प्रदेश सांसद भएर अब त सभामुख पनि भइयो। अहिले सवै परिवारले मलाई नै साथ दिइरहनुभएको छ।
झन्डै ३५ वर्ष राजनीतिक जीवन बिताउनुभयो। अझै पनि सक्रिय राजनीतिमै हुनुहुन्छ। राजनीति भनेको के हो ?
राजनीति भनेको शासन गर्ने मूल नीति हो। समाज रूपान्तरणका लागि माउ नीति हो। विकास र समृद्धिको जग हो। समाज, देश र व्यवस्था परिवर्तन गर्न राजनीति नै आवश्यक हुन्छ। जनता र मुलुकको हितमा काम गर्दै समाज सेवा गर्दै मुलुकको नेतृत्वमा जाने बाटो हो। जनतालाई सचेत बनाउने, सक्षम बनाउने र नेतृत्व विकास गर्ने मेरुदण्ड हो। राजनीति हरेक घरमा छ। टोलमा छ। समाजमा छ। म राजनीति गर्दिन भन्ने मान्छेहरूले पनि राजनीति गरिरहेका हुन्छन्। यो मानव समाजसँगै जोडिएको विषय हो।
महिलाहरूलाई नेतृत्वमा पुगाउनका लागि विगतमा विभिन्न कोणबाट महिला आन्दोलनहरू भए। जसको उपलब्धि मुलुकका तीनवटै तहका सरकारहरूमा संविधानले नै महिलालगायत पछाडि परेका वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चितता गरायो। तपाईंको विचारमा संविधानमा भएको व्यवस्थाअनुसार कार्यान्वयन तहमा कतिको प्रभावकारी भएको मान्नुहुन्छ ?
संविधानले राज्यका हरेक तहमा महिला सहभागिताको सुनिश्चितता गरेको छ। वडादेखि नै महिला सदस्य, स्थानीय तहमा प्रमूख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने, संसदमा ३३ प्रतिशत सहभागिता गर्ने जस्ता महत्वपूर्ण व्यवस्थाहरू गरियो। यसले महिला नेतृत्व विकास गर्नका लागि ठूलो राहत पुगेको छ। हेर्नुस् त कर्णाली प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखसमेत महिला चुनिएका छौं।
नेपालमा राष्ट्रपति, प्रधानन्यायधीश, केन्द्रको सभामुखसमेत महिला बनिसक्नुभयो। कर्मचारीतन्त्रमा पनि विभिन्न मन्त्रालयको सचिव, जिल्लाका सीडीओ, अन्य कार्यालय प्रमुखहरू महिला बन्नुभएको छ। यो सबै संविधानले व्यवस्था गरेको समावेशिताले नै हो नि ! पछिल्लो समय राजनीतिक दलमा पनि महिला नेतृत्व ल्याउनका लागि प्रयासहरू भइरहेका छन्। जति हुनुपर्ने हो सतप्रतिशत भएको छैन। तर, कम्तीमा सन्तुष्टि लिने अवस्थामा भने पुगेका छौं।
महिलाहरूलाई नेतृत्वमा आउनका लागि मुख्य चुनौतीहरू के हुन् जस्तो लाग्छ ?
महिलाहरू नेतृत्वमा आउनका लागि चुनौतीका चाङ छन्। अहिले पनि गाँउमा छाउपडी प्रथा मानिन्छ। घरायसी काम महिलाहरूकै हो भन्ने सोच छ। समाजले परापूर्व कालदेखि बनाइएका बन्धनहरू अहिले पनि कायमै छन्। मुलुकको कानुन कार्यान्वयन प्रभावकारी छैन। महिला सशक्तीकरण गर्नका लागि गर्नुपर्ने कामहरू पनि व्यापक रूपमा भएका छैनन्।
२१औं शताब्दीमा पनि महिनावारी बार्न बाध्य पारिन्छ। संविधानले त यो दण्डनीय बनाएको छ नि ! तर, गाउँमा यसको प्रभाव कम छ। समाजमा अहिले पनि महिलाहरू काम गर्न सक्दैनन्, नेतृत्व लिन सक्दैनन् भन्ने धारणा छ। महिलालाई नेतृत्व स्वीकार गर्न पुरुषहरू मानसिक रुपमा तयार भइसकेको अवस्था छैन। विस्तारै शिक्षित र सचेत समाज निर्माण भयो भने महिलाहरूलाई नेतृत्वमा पुग्नका लागि अझै सहज बन्दै जान्छ।
अन्त्यमा भन्नुपर्ने केही छ ?
सुरुमा म तपाईं र तपाईंको मिडियालाई धन्यवाद दिन चाहन्छु। किनभने मैले विगतमा भोगेका र गरेका कामका विषयमा सम्झने र जनताका सामु पस्किने अवसर प्रदान गर्नुभयो। कर्णालीमा विकटता, अभाव, गरिबी, अशिक्षा मात्र छ भनिन्छ। कर्णालीका सम्भावनाहरू उजागर गर्नका लागि यहाँका राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजिवी र आम नागरिकहरूको उल्लेख्य भूमिका आवश्यक छ। प्रचुर सम्भावना बोकेको कर्णालीलाई समृद्ध बनाउनु छ। संसदलाई कर्णालीका साझा समस्याहरू केलाउने र समाधान गर्ने थलो बनाउनु छ। मलाई यो स्थानमा पुर्याउने आम मतदाता, मेरो पार्टी र अन्य साझेदार दलहरू, निर्वाचन सम्पन्न गराउने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायलगायत सवैलाई धन्यवाद दिन चाहान्छु।
प्रस्तुति : बिस्नप्रसाद न्यौपाने