बाजुरा र हुम्लामा हिमपात
हुम्ला : हिमाली जिल्ला हुम्ला र बाजुरामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुस देखिनै यहाँ हिउँ पर्ने गरेको थियो ।
हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।
बाजुरामा हिमपात
बाजुरामा जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो ।
पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ ।
चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुसी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ ।
जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा हिमपात भएपछि आवतजावत गर्न समस्या भएको छ ।