कर्णालीमा खाद्यवस्तुको गुणस्तर कमजोर
सुर्खेत : कर्णालीमा खाद्यवस्तुको गुणस्तर कमजोर रहेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गरेको सर्वेक्षणमा कर्णालीका होटल तथा रेष्टुरा र बजारमा पाइने खाद्यवस्तुहरूमा गुणस्तर कमजोर रहेको पाइएको हो।
प्रमुख भेषबहादुर थापाले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लामा रहेका होटल, रेष्टुरा र खाद्य बजारमा गरिएको अनुगमनमा अधिकांशमा न्यूनगुणस्तर फेला परेको बताए।
कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३६२ वटा होटल तथा पसलमा अनुगमन गरेको छ।
२६६ वटा खाद्यवस्तुको नमुना विश्लेषण गरेको छ। जसमा अधिकांशमा गुणस्तर न्यून पाइएको छ। गुणस्तर परीक्षणबाटै हालसम्म जम्मा १ लाख ९२ हजार राजस्व पनि संकलन गरेको छ।
कार्यालयका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट अनुगमनका क्रममा फेला परेका ८ लाख २० हजार बराबरको अखाद्य वस्तु नष्ट पनि गरेको छ।