पालिका स्तरीय भलिवल प्रतियोगितामा अन्नपूर्ण र रघुगंगा च्याम्पियन
बेनी: बेनीमा शुक्रबार सम्पन्न पालिका स्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ अन्नपूर्ण र पुरुषतर्फ रघुगंगा गाउँपालिका च्याम्पियन भएका छन्।
सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०७९ को अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघले जिल्ला भलिबल संघसँगको समन्वयमा आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ५ र पुरुषतर्फ ७ वटा पालिकाको ८ टिमले सहभागिता जनाएका थिए।
महिला भलिबलमा अन्नपूर्णले धवलागिरीलाई सोझो ३ सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो, दोस्रो र तेस्रो सेट क्रमशः २५-२२, २५-१७ र २५-१० को अन्तरमा अन्नपूर्णले जितेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए।
महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका खेलाडी
पुरुष भलिबलमा रघुगंगाले अन्नपूर्णलाई सोझो तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्यो । २५-१९, २५-१३ र २५-१७ को अन्तरमा रघुगंगाले जित निकालेको हो। पुरुष भलिबलमा प्रथम र द्वतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ८८ हजार ८८८ र ५५ हजार ५५५ पुरस्कार जितेका छन् ।
महिला भलिवलमा पहिलो र दोस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित ५५ हजार ५५५ रुपैयाँ र ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार जितेका छन् । दुवै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई पनि नगद पुरस्कार प्रदान गरिने महोत्सवको खेलकुद संयोजक हिमाल श्रेष्ठले बताए। पुस २८ गते सुरु भएको महोत्सवको शनिबार हुने समापन समारोहमा पुरस्कार वितरण गरिने उनले बताए।