चार वर्षदेखि अलपत्र भएको पुलको कामले तीव्रता पायो
जोमसोम : मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने लेते–छयो स्पेन्सन पुल निर्माणले गति लिएको छ।
चिसो मौसममा समेत पुलको काम सञ्चालन भइरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ। २०७४ साल फागुन महिनामा साविक जिल्ला विकास समितिले ठेक्का सम्झौता गरेको थियो।
निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवा काठमाडौंले पाएको थियो। पुल निर्माणको काम १८ महिनामा सकिनुपर्ने भएपनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन।
प्राविधिकले गरेको डिजाइन फेल भएको भन्दै चार वर्षसम्म पुल निर्माण अन्योल बनेको थियो।
२०७५ भदौमा कालिगण्डकी नदीको बाढीले पुलको फाउन्डेसन बीममा क्षति पुर्याएपछि निर्माणधीन पुलको संरचना जोखिममा परेको थियो।
२०७७ भदौमा भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माणधीन पुल निर्माणको अख्तियारी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिएको थियो।
पुलको म्याद थप गरिएपनि कोरोनाका कारण निर्माणको काम अघि बढ्न सकेको थिएन। अर्थ मन्त्रालयले २०७७ असार ३ गतेको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले दोस्रो पटक २०७८ भदौ १३ गतेसम्मको म्याद तोकेको थियो।
पुलको संरचना दीर्घकालीन बनाउन निर्माण कम्पनीले पेश गरेको भेरियनस भिओको गण्डकी प्रदेशको मन्त्रिपरिषदले हालै अनुमोदन गरेको थियो।
लेते–छयो पुलको साविकको लागत भन्दा २ करोड ८१ लाख भिओ वृद्धि गरिएको थियो। जसअनुसार सो पुलको पछिल्लो लागत १४ करोड १९ लाख १५ हजार छ।
पुलको पूर्वतर्फ नदी नियन्त्रण प्रोटेक्सन वाल लगाइने छ। चिसो मौसमका बावजुद पनि मोटरेबल पुलको काम भइरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिग्देलले जानकारी दिए।
पुलको भौतिक प्रगती २० प्रतिशत रहेको भएको छ। निर्माणस्थलमा करिव २५/३० जना मजदुर रहेका छन्।