उपसभामुखको निर्वाचन आज : राना र यादव प्रतिस्पर्धा गर्दै
काठमाडौं : उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन्। उपसभामुख चयनका लागि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ।
रास्वपाकी रानामगरलाई सत्तारूढ दलको समर्थन छ। उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्। मुक्ताकुमारीलाई सत्ता गठबन्धन बाहिर रहेका दलको समर्थन रहेको छ। उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्।
राजनीतिक क्षेत्रका लागि रानामगरको नाम नयाँ भए पनि सामाजिक क्षेत्रमा कुशल नेतृत्वको रूपमा स्थापित छन्। गत निर्वाचनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी उनी समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेकी हुन्। रानामगरलाई सयौं असहाय र जेलमा रहेका बालबालिकाले आमा मान्छिन्। उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी थिइन्। बालबालिकाको स्याहार र शिक्षादीक्षामा सहयोग गरेकोले उनको नाम परिचित थियो।
अर्की उम्मेदवार यादव पार्टीकी केन्द्रीय सदस्य साथै राष्ट्रियसभाकी पूर्वसांसदसमेत हुन्। उनी २०७४ मा मधेस प्रदेशबाट दुई वर्षका लागि राष्ट्रियसभा सदस्यमा चुनिएकी थिइन्। २०७० सालमा पनि समानुपातिक सांसद थिइन्। सभामुख चुनावमा एमालेका घिमिरेको जितसँगै उपसभामुखमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ।