अफलाइन राइडरबाट बढ्दै जोखिम

पठाओको नाम बेच्ने र आपराधिक क्रियाकलापमा सहभागी हुने गरेको सुन्नमा आएको छ।

अफलाइन राइडरबाट बढ्दै जोखिम

काठमाडौं : आजभोलि काठमाडौं उपत्यकाको चोकतिर निस्क्यो कि ‘जाने हो ?’ भन्दै मोटरसाइकल चालक सोध्न आइहाल्छन्। चाबहिल, कोटेश्वर, तीनकुनेजस्ता चोकमा त यसरी सोध्न आउनेको घुइँचो नै हुन्छ। उनीहरू ‘अफलाइन’ राइडर हुन्। कोही पठाओ, 

कुनैले इनड्राइभर वा टुटलको पनि नाम लिने गर्छन्।  यसरी अफलाइन यात्रु बोक्नेले अप्ठ्यारोमा परेका यात्रुलाई लुट्ने गरेका घटना सार्वजनिक हुन थालेका छन्। नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले चोकचोक र बाटो ढुकेर बसेका अफलाइन राइडरहरूले ठगी गर्ने गरेको गुनासो आइरहेको बताए। उनी भन्छन्, ‘केही दिन अगाडि गौशालाबाट भीमसेनगोला जाँदै गरेकी महिलालाई कुटपिट गरी लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। यस्तै पठाओ प्रयोग गरेका यात्रुलाई बढी भाडा लिएको वा असभ्य व्यवहार गरेको भन्दै पनि उजुरी आइरहन्छन्।’ 

अनलाइन नै बसेर सम्बन्धित कम्पनीमा दर्ता भएर प्रयोगमा आएका अनलाइन राइडहरू अफलाइनको तुलनामा केही सुरक्षित हुन्छन्। उनीहरूले नियमित रूपमा उक्त कम्पनीसँगको सहकार्यमा काम गरिरहेका हुन्छन्। तर, अनलाइन बसेर सर्भिस दिँदा कम्पनीलाई बुझाउनु पर्ने करको झन्झटले पछिल्लो समय अफलाइन राइडरहरू बढ्दै गएका छन्। बाटोमा बसेर जाने हो भन्दै पैसाको बार्गेनिङ गर्ने दुईपाङ्ग्रे सवारीसाधन चालकहरू अफलाइन राइडर हुन्। प्रहरी भन्छ, ‘उनीहरूसँग सजक हुन जरुरी छ। उनीहरूसँग यात्रा गर्दा लुटिने, ठगिने सम्भावना बढी हुने तथा दुर्घटनामा परिहाले पनि कुनै सेवासुविधा पाइँदैन।’

केही महिनाअघि ललितपुरमा पठाओ राइडर खोटाङका तगेन्द्र राई दुर्घटनामा परे। उनले चलाएको बागमती प्रदेश ०२०–३७ प ६३३६ नम्बरको मोटरसाइकल पठाओ नेपालमा दर्ता गरिएको थियो। बल्खुबाट यात्रु बोकेर सातदोबाटो गइरहेका राईले दुर्घटनामा ज्यान गुमाए। उनको पछाडि बस्ने अधिकारी थरका यात्रु घाइते भए। उक्त समयमा राईले चलाएको सवारी अफलाइन थियो। यसैले उक्त दुर्घटनाबारे पठाओ नेपालले तत्कालै थाहा पाएन। अफलाइन भएकै कारण मृतकका परिवारले क्षतिपूर्तिबापत पाउने बिमा रकम १० लाख पनि प्राप्त गर्न सकेनन्। 

पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालका अनुसार अफलाइन बसेर राइड गर्ने चालकले बिमा रकम प्राप्त गर्न सक्दैनन्। पठाओ राइडरको दुर्घटनामा मृत्यु वा अंगभंग भएमा १० लाखको बिमा गरिएको हुन्छ। दुर्घटना बिमा एक लाखको छ। हमाल भन्छिन्, ‘पठाओले बिमा सुरु गरेपछि दुई सयभन्दा बढी राइडरले दुर्घटना बिमा प्राप्त गरिसकेका छन्। यस्तै तीन जना राइडरको मृत्यु भएको छ। उनीहरूको परिवारले बिमाबापतको १० लाख प्राप्त गरिसकेका छन्।’

पठाओ प्रवक्ता हमाल थप्छिन्, ‘अफलाइन राइड गर्नेले पछिल्लो समय समस्या बढाइरहेका छन्। कम्पनीमा आबद्ध हुने, पठाओको नाम बेच्ने र आपराधिक क्रियाकलापमा सहभागी हुने गरेको सुन्नमा आएको छ। यसलाई निरुत्साहित गर्नका लागि हामीले विभिन्न कार्य सञ्चालन गरिरहेका छौं। नेपाल प्रहरीसँगको सहकार्यमा अफलाइन राइडर हटाउनको लागि पहल गरिरहेका छौं।’

यस्ता राइडरका विषयमा धेरैभन्दा धेरै गुनासो गर्नका लागि यात्रुलाई आग्रह गर्दै हमाल भन्छिन्, ‘हामीसँग आबद्ध चालकहरूले अफलाइन राइड गरेको खण्डमा कम्पनीले विभिन्न कारबाही चलाएको छ। सम्झाएर पठाउने, कानुनी कारबाहीको लागि पहल गर्ने, सस्पेन्ड गर्ने, सधैंलाई पठाओबाट ब्यान्ड गरिदिनेलगायतका कार्य गरिरहेका छांैे। अनलाइन राइड गर्दा चालक तथा यात्रुलाई पनि निकै फाइदा छ। आफू पुग्ने लोकेसन र भाडा पहिल्यै थाहा हुन्छ। ठगिने सम्भावना कम हुन्छ। मोबाइलमै सवारीसाधन र चालकको डिटेल्स आउने हुँदा सुरक्षित पनि हुन्छ।’ 

अफलाइन राइडले ठगी गर्ने गरेको जनगुनासो बढेपछि उपत्यकामा प्रहरी अफलाइन राइडरविरुद्ध एक्सनमा उत्रिएको छ। चोकचोकमा भेला भएर यात्रुलाई सास्ती दिएका राइडरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले हालसम्म दुई सयभन्दा बढी अफलाइन राइडरहरू नियन्त्रणमा लिएको जानकारी दिए। उनी भन्छन्, ‘सुरुवातमा हामीले उनीहरूलाई नियन्त्रणमा लिने र सम्झाउने गरिरहेका छौं। उजुरी आएको राइडरको हकमा भने उसको कसुरअनुसारको कारवाही अगाडि बढाएका छौं।’ 

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले ट्याक्सी चढ्ने होस् या अफलाइन अनलाइन राइड प्रयोग गर्ने हुन् जोसुकै यात्रु सजग हुनुपर्ने जानकारी दिए। शंका लागेको अवस्थामा प्रहरीलाई खबर गर्नुहोस् र आफू चढ्ने सवारीको बारेमा जानकारी लिएरमात्रै यात्रा गरेमा ठगिने सम्भावना कम हुने उनको तर्क छ। राई भन्छन्, ‘सेयर राइड गर्ने चालकहरूले सवारीको अगाडि मोबाइल जडान गरेर सवारी चलाउन पाइँदैन। यात्रा असुरक्षित हुने भएकाले यसलाई निषेधित गरिएको हो।’ उपत्यका ट्राफिक महाशाखाका सहायक प्रवक्ता अवदेश बिष्टका अनुसार राइडरको ध्यान मोबाइलमा जाने हुँदा दुर्घटना बढ्न थाल्यो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.