रूसद्वारा हवाई प्रतिरक्षा तालिम सञ्चालन
मस्को : रूसी रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रमा हवाई आक्रमण रोक्नका लागि प्रशिक्षण अभ्यास गरेको जनाएको छ।
'मस्को क्षेत्रमा एन्टी–एयरक्राफ्ट मिसाइल ब्रिगेडका कर्मचारीहरूलाई पश्चिमा सेनाको सैन्य, औद्योगिक र प्रशासनिक सुविधाहरूमा हुन सक्ने हवाई आक्रमणहरू रोक्नको लागि प्रशिक्षण आयोजना गरिएको थियो,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त प्रशिक्षणमा एस–३०० विमानभेदी क्षेप्यास्त्र प्रणाली प्रयोग गरिएको बताइएको छ। उक्त अभ्यासमा १५० सैनिकको सहभागिता रहेको मन्त्रालयले जनाएको छ। तर रुसी राजधानीलाई घेरेको मस्को क्षेत्रमा कहाँ प्रशिक्षण भएको थियो भन्ने बारे भने केही बताइएको छैन।