लगानी जुटेन, आयोजना अन्योलमा
सुर्खेत : कालीकोटमा दुईवटा जलविद्युत् आयोजना निर्माणको काम नहुँदा अलपत्र परेका छन्। तिला नदीमा बन्ने तिला १ र तिला २ जलविद्युत् आयोजना सम्झौता भएको १२ वर्ष बित्दा पनि नहुँदा अलपत्र परेका हुन्। निर्माणको जिम्मा पाएको एसी पावर कम्पनीले २०६७ चैतमा सरकारसँग यी दुई आयोजना निर्माणका लागि सम्झौता गरेको थियो।
निर्माण कम्पनीले हालसम्म लगानीसमेत जुटाउन सकेको छैन। कम्पनीले चार सय ४० मेगावाटको तिला १ र चार सय ४० मेगावाटको तिला २ को गरी जम्मा ८८० मेगावाटको विद्युत् उत्पादन गर्ने सम्झौता गरी लाइसेन्स लिएको थियो। तिला १ को तिलागुफा नगरपालिकास्थित धनाडामा र तिला २ खाँडाचक्र नगरपालिकाको सेराबाडामा बाँध बन्ने डीपीआरमा उल्लेख थियो। आयोजनालाई वित्तीय व्यवस्थापनका लागि दिइएको पछिल्लो म्याद गत वर्ष नै सकिएको छ। तर, तोकिएको समयमा लगानी जुटाउन नसकेपछि आयोजनाको भविष्य अन्योलमा परेको छ।
ट्रान्समिटर लाइन नबन्दा निर्माणको कामअघि बढाउन नसिकिएको एससीपावर कम्पनीका प्रमुख हरिचन्द्र शाहले बताए। उनले अब फागुनदेखि काम थाल्ने बताए। निर्माणको जिम्मा पाए पनि केही प्राविधिक र आर्थिक चुनौतीका कारण काम सुरु हुन नसकेको भन्दै उनले लगानीका लागि भारतीय कम्पनी जीएमआरसँग सम्झौता गर्न लागेको बताए। तर, माथिल्लो कर्णाली जलविद्युत् आयोजना अलपत्र पारिरहेको जीएमआरले तिला जलविद्युत् आयोजना बनाउनेमा स्थानीयको आशंका छ।
स्वदेशी कम्पनीले लगानी गर्न नसकेको र भारतीय कम्पनी जीएमआरको भर पर्दा तिलाकर्णाली जलविद्युत् आयोजना अलपत्र परेको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए। उनले अब म्याद थप्न नहुने र काम नगर्ने भए अर्को कम्पनीलाई काम दिनुपर्ने बताए। तिला जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूसँग सहमति नै नलिएर आयोजनाले ९ मिटर सुरुङ खनिसकेको छ। परीक्षणका लागि खनिएको सुरुङ पास पनि भइसकेको छ। सुरुङ खनेको ९ वर्ष हुँदासमेत अहिलेसम्म यो क्षेत्रमा कम्पनी पुगेको छैन। अन्य कामहरू लथालिंग छन्। प्रभावित क्षेत्रका बासिन्दाहरूसँग मुआब्जाको मूल्य निर्धारण गरिएको छैन।
निर्माणको जिम्मा पाएको १२ वर्ष पुग्दासमेत अझै काम सुरु नहुनु मुख्य कमजोरी जिल्लाका नेतृत्वको पनि रहेको नागरिक समाजका अगुवा हस्तबहादुर बमले बताए। नेपाली रुपैयाँ ४८ अर्ब ८३ करोड ९६ लाख लागतको अहिले तिला–१ परियोजनाअन्तर्गत कालीकोटको रुरु खोला र तिला नदीको दोभानमा बाँध र सेरीघाटमा बिजुली घर बनाइनेछ। यसको सुरुङ १३ दशमलव ७ किलोमिटर लामो हुनेछ। तिला–२ परियोजनाको लागत अनुमान अझै कम छ। नेपाली रुपैयाँ २७ अर्ब ८० करोड ६२ लाख लागत लाग्ने अनुमान छ। यी आयोजनाबाट खाँडाचक्र, शुभकालिका, महावै र तिलागुफा गरी चारवटा पालिका प्रभावित हुनेछन्।
यी दुवै परियोजनाको वातावरणीय प्रभाव मूल्याङकन पनि सम्पन्न भइसकेको छ। एससीपावर कम्पनीले २०६५ चैत २० गते तिला–१ परियोजना र तिला–२ परियोजनाका लागि सम्भाव्यता अध्ययन गर्न सरकारसँग सर्वेक्षण अनुमति लिएको थियो।