तनहुँमा भीरबाट लडेर एक जनाको मृत्यु
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका वर्ष ४५ को माधवबहादुर अर्जेलको भीरबाट लडेर मृत्यु भएको छ। शनिबार साँझ ६:५५ बजे आफ्नो घरदेखि करिब ३०० मिटर पर धमिलिकुवा सामुदायिक वनमा भिरबाट लडेको अवस्थामा अर्जेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
उनका अनुसार अर्जेल सालको रुखको जरामा अड्किएको अवस्थामा भेटिएका थिए। उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, जिल्लाकै शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा भारत उत्तर प्रदेश जगदिशपुर बलिहरी कबिरका ५८ वर्षका राम सुरतको मृत्यु भएको छ। बेलचौतरामा डेरा गरी बस्ने सुरत आफू सुत्ने कोठामा बिरामी अवस्थामा फेला परेको र उपचारको लागी जि.पी.कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा गएराती १०:३० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।