दुनीले अन्तिम पटक हेर्न पाइनन् छोराको मुख
दैलेख : राउटे समुदायमा अहिलेसम्म कसैले पनि मोबाइल वा फोन चलाएका छैनन्। त्यसैले पनि बस्तीमा सूचना आदान प्रदानमा सहज छैन। बुधबार साँझ ज्यान गुमाएका बस्तीका नारायण शाहीको मृत्युको खबरबारे बिहीबार साँझ साढे पाँच बजेसम्म पनि बस्तीमा सुइँकोसम्म पाएनन्। महामुखिया महिनबहादुर शाही आगोले पोलिएर घाइते भएका छोरालाई लिएर काठमाडौं पुगेका थिए। महामुखिया शाही बस्ती पुगेपछि मात्र सबैले नारायणको मृत्युबारे थाहा पाए।
गत पुस १९ गते राति सुतिरहेको बेला आगोले जलेर घाइते भएका नारायणलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो। काठमाडौंको ट्रमा सेन्टरमा ३९ वर्षीय नारायणको उपचार चलिरहँदा दैलेखस्थित बस्तीमा नारायणकी आमा ५४ वर्षीया दुनी शाही छोरा निको भएर फर्किने आशमा थिइन्। बस्तीमा कोही नयाँ मान्छे पुग्ने बित्तिकै उनी सोध्ने गर्थिन्, ‘छोरालाई कस्तो छ होला ? कहिले फर्कन्छ ?
अरू यस्तै यस्तै ...।’ उनलाई लागेको थियो, छोरालाई जीवितै भेट्न पाउनेछु। उनले यो सपना अधुरै रह्यो।
छोरालाई जीवितै देख्न नपाएकी दुनीले छोराको मृत शरीरसमेत देख्न पाइनन्। छोरा बचाउन हिँडेका महामुखिया महिनबहादुर बिहीबार साँझ साढे पाँच बजे रित्तो हात फर्किए। मन गरुङगो पार्दै। महामुखिया दम्पतीले छोरा गुमाए। अर्कोतर्फ नारायणकी पत्नी सुन्दरी शाहीले २० वर्षमै पति गुमाइन्। सुन्दरीले पुस २० गते पतिलाई उपचारका लागि सुर्खेततर्फ पठाएर आफू बस्ती फर्किएकी थिइन्। उनी पति निको भएर फर्किनेमा ढुक्क थिइन्। पति जीवितै फर्किने आशामा दिन कटाइरहेकी सुन्दरीले पतिको मृत्युको खबर एकदिन बितेपछि मात्र थाहा पाइन्।
पति बियोगको पीडाले सुन्दरीका आँखा ओभानो छैनन्। बस्तीका सबै महिलाहरू उनलाई सम्झाइरहेका छन्। उनको पीडा भुलाउने प्रयास गरिरहेका छन्। बस्तीमा कसैका आँखा ओभानो छैन। नारायणको मृत्युको खबर थाहा पाएपछि बस्तीमा रुवाबासी चलेको छ। पुस १९ गते राती अत्यधिक मदिरा सेवन गरेर सुतिरहेका बेला आगोमा जलेर घाइते भएका राउटे युवा नारायण शाहीको बुधवार मृत्यु भएको हो। राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयूमा राखेर उपचार भइरहेको थियो। निको हुने छाँट नदेखेपछि नारायणका बुबा महामुखिया महिनबहादुर शाहीले घरतर्फ हिँडाएका थिए।
ट्रमा सेन्टरबाट एम्बुलेन्समा राखेर दैलेखतर्फ ल्याउँदै गर्दा बुधबार साँझ उनको बीचबाटोमै निधन भएको हो। शाहीले डाक्टरहरूले नै बाँच्ने सम्भावना कम छ भनेपछि दैलेख लिएर फर्किने क्रममा निधन भएको बताए। ‘डाक्टर साबहरूले तपाईको छोरालाई निको गराउन सम्भव छैन भनेपछि उसको आमा (दुनी) र पत्नी (सुन्दरी)ले मुख हेर्लान् भनेर ल्याउँदै गर्दा बाटोमै बित्यो’, उनले भने। नारायणका आमा दुनी र पत्नी सुन्दरी जिउँदो देख्न त पाएनन्, मृत शरीरसमेत देख्न पाएनन्। मृतक नारायणको शव काठमाडौंबाट सिधै बस्तीमा नभई पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा लगिएको थियो। पोस्टमार्टमपछि अस्पताल नजिकै रहेको तर्ताङस्थित जंगलमै दाहसंस्कार गरिएको छ।
राउटेको संस्कार अनुसार खाडल खनेर नारायणको शव गाडिएको छ। सोसेक नेपालका प्रभाकुमार विश्वकर्माले नारायणका बुबा र राउटे समुदायका अन्य दुई जना युवाहरू शेरबहादुर र दीपकको उपस्थितिमा बिहीबार साँझ पाँच बजे अन्तिम दाहसंस्कार गरिएको बताए। पुस १९ गते जलेर घाइते भएका उनलाई २० गते बिहान दैलेख अस्पतालमा ल्याइएको थियो। प्राथमिक उपचार सकेर दैलेख अस्पतालले कर्णाली प्रदेश अस्पतालमा रिफर गरेको थियो। प्रदेश अस्पतालमा पनि उपचार सम्भव नभएपछि सुर्खेतबाट जहाजमार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो। नारायणको निधनपछि महामुखिया दम्पती सन्तानविहिन भएका छन्। १४३ जनसंख्या रहेको राउटे बस्तीमा नारायणको निधनपछि राउटेको जनसंख्या १४२ मा झरेको छ।