अब कर्णालीमा पनि मृगौला प्रत्यारोपण सेवा
सुर्खेत : कर्णालीमै अब मृगौला प्रत्यारोपण हुने भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतले कर्णालीमै पहिलो पटक मृगौला प्रत्यारोपण सेवाको सुरुवात गर्न लागेको हो।
आउने शनिबार पहिलो पटक प्रदेश अस्पताल सुर्खेतमा दुई जना बिरामीको मृगौला प्रत्यारोपण गरिँदैछ। प्रदेश अस्पताल सुर्खेतले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा.डम्बर खड्काले प्रदेश अस्पतालमै पहिलो पटक मृगौला प्रत्यारोपण सेवाको सुरुवात गर्न लागिएको जानकारी दिए।
उनका अनुसार सहिद धर्मपाल मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता गरी कर्णालीमा सेवा दिन लागिएको हो। आउने शनिबार मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरबाट आउने डा. पुकार श्रेष्ठको नेतृत्वको विशेषज्ञ डाक्टरहरूको टोलीले प्रदेश अस्पताल सुर्खेतमा दुई जना बिरामीको मृगौला प्रत्यारोपण गर्ने छ।
त्यसपछि प्रदेश अस्पताल सुर्खेतले नियमित यो सेवालाई दिने बताइएको छ। हाल प्रदेश अस्पताल सुर्खेतमा विभिन्न १५ वटा विभागहरूले विभिन्न सेवाहरू दिइरहेका छन्।
यो अस्पतालमा सुविधा सम्पन्न अस्पतालमा पाउने सेवाहरूमा ९८ प्रतिशत सेवा सञ्चालनमै छ।
अस्पताल निर्देशक डा. खड्काले भने, 'विगतमा यस अस्पतालमा मृगौला डायलोसिस सेवा मात्र थियो। अब प्रत्यारोपाण गर्ने सेवा पनि सञ्चालन गर्न लागेका छौँ।'