वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पदीय मर्यादा विपरित काम गरेको भन्दै डा. गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
'डा. ज्ञानेन्द्र गिरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिजस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदाबी लिइएको छ,' आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।