बाँकेमा दादुरा नियन्त्रण उन्मुख छ : स्वास्थ्य मन्त्री
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बाँकेमा दादुरा नियन्त्रण उन्मुख रहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँगको छलफलमा स्वास्थ्य मन्त्री गिरीले बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान अघि बढेको बताएका हुन्।
मन्त्री गिरीले भने, ‘म दादुरा प्रकोप प्रभावित क्षेत्रमै पुगेर त्यहाँको वास्तविक अवस्था हेरेँ। कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन आग्रह गरेको छु। सबै बालबालिकालाई खोपको दायरामा ल्याउन घरदैलो अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।’
सो क्रममा बाँकेमा कतिपयले खोप लगाउन नचाहेको र नलगाएका कारण दादुराको प्रकोप फैलिएको मन्त्री गिरीले बताए।
गिरीले गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकमा पुर्याउने आफ्नो एजेण्डा रहेको बताए। त्यसका लागि आफू अध्ययनका क्रममा रहेको बताए।
स्वास्थ्य विमाको दायरा फराकिलो बनाउने गिरीको भनाइ छ। गिरीले भने, ‘सम्पुर्ण नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्यको सुनिश्चिता गर्नतर्फ लागिरहेको छु। पैसा नभएर बिरामी मर्न नपरोस् भन्ने हो।’ प्रत्येक कुरा पारदर्शिता हुने र भ्रष्टाचार हुन नदिने बताए।