अस्पतालले शुल्क लगाएपछि नागरिक अभियन्ताको विरोध
दोलखा : दोलखाको चरिकोटमा सञ्चालनमा रहेको पशुपति चौलागाईं स्मृति प्रदेश अस्पतालले चर्को शुल्क लगाएको भन्दै विभिन्न संघ संस्थाले विरोध जनाएका छन्।
अस्पतालले माघ १ गतेबाट टिकट, विभिन्न रोगको परिक्षण, ल्याब, एक्स-रे, बिरामी भर्ना लगायतमा निजी अस्पतालको भन्दा बढी शुल्क लगाएको विरोधमा दोलखामा क्रियाशील संघ संस्था, उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतले संयुक्त अपिल जारी गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।
विगतमा यस अस्पतालले निःशुल्क उपचार सेवा दिँदै आएको थियो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामेश्वर मानन्धर, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाई, सचिव दिलबहादुर केसी, पूर्व अध्यक्ष जीवन लामा, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्णबहादुर बस्नेत, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, दोलखा चेम्बर अफ कर्मशका अध्यक्ष विष्णु श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका सदस्य श्याम खतिवडा, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, पत्रकारहरू शम्भु गौतम, गोकर्ण भण्डारी, श्रृजन घिमिरे, नवराज शिवाकोटी, सुजन काफ्ले लगायतले अपिल जारी गरेका हुन्।
अपिलमा गरीब तथा विपन्न वर्गका मानिसले उपचार सेवा लिँदै आएको सदरमुकाम चरिकोटमा सञ्चालनमा रहेको प्रदेश अस्पतालले जनप्रतिनिधि, नागरिक अभियन्ता, उद्योगी व्यवसायी, सरोकारवाला निकाय कसैसँग सल्लाह नगरी एकलौटी ढंगले निजी अस्पतालको भन्दा बढी शुल्क निर्धारण गरेको प्रति खेद व्यक्त गर्दै उक्त निर्णय तत्काल खारेज गरी विगतमा जसरी नै निःशुल्क सेवा दिन आग्रह गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन (मेसु) डा. ज्ञानेश्वर श्रेष्ठले दोलखाका नागरिक अभियन्ताहरूले उठाएका सवाल जायज भएपनि यथा अवस्थामा अस्पतालले निःशुल्क सेवा दिन सम्भव नभएको बताए।
व्यक्तिगत रूपमा आफूले कुनै निर्णय गर्न नसक्ने भएकाले नागरिक अभियन्ताहरूको अपिल आफूले व्यवस्थापन समितिमा छलफलको लागि राख्ने उनले बताए।
अस्पतालमा रहेका ७२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूमध्ये २९ जना समितिअन्तर्गत करारमा रहेकाले उनीहरूलाई तलब दिनका लागि पनि शुल्क लगाउनु पर्ने बाध्यता रहेको डा. श्रेष्ठको भनाइ छ।
समितिको करारका कर्मचारीहरूका लागि मात्र मासिक १० लाख खर्च हुने अस्पतालले जनाएको छ।