गण्डकीमा माओवादीले जुग्जालीलाई मन्त्री बनाउने
म्याग्दी : नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ।
पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो। ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन्।
माओवादीका तर्फबाट यसअघि तनहुँ २(ख)बाट निर्वाचित हरिबहादुर चुमान विना विभागीय मन्त्री भइसकेका छन्। प्रदेश सरकारले सोमबार बिहान मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा बनाउने निर्णय गरेको थियो।
पुष २५ गते नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले सोही दिन माओवादीका चुमान, एमालेकी सिताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरेका थिए।
सरकारमा सहभागी दलहरूबीच एमालेले ४, माओवादीले २ र राप्रपाले एक मन्त्री लिने समझदारी बनेको छ। ‘पार्टीको सिफारिसमा संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको छ,’ माआवादी केन्द्रका एक सांसदले भने ‘कसले कुन मन्त्रालय लिने भन्ने निर्णय हुन बाँकी छ। हाम्रो तर्फबाट सरकारमा सुविनजीलाई पठाउने निर्णय भयो।’
माओवादीबाट जुग्जालीका अलावा गोरखाकी सुशीला सिम्खडा र माओवादीको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टी गोरखाका फडिन्द्र देवकोटा मन्त्रीको आकांक्षी थिए।
गत चुनावमा अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेको माओवादीले म्याग्दीमा भने गठबन्धनबाट दुईवटै निर्वाचन क्षेत्र जितेको थियो। समानुपातिकतर्फ पनि २०७४ को तुलनामा म्याग्दीमा माओवादीको मत बढेको थियो। सोही आधारमा म्याग्दीले सरकारमा सहभागिता पाउनुपर्ने दावी गरिएको थियो।
मुख्यमन्त्री अधिकारी सरकार विस्तार र मन्त्रालय बाडफाँडलाई थाँती राखेर सोमबार काठमाडौं गएका छन्। मंगलबारसम्म मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने अधिकारीको तयारी छ।