कांग्रेस राष्ट्रपति चुनावतर्फ केन्द्रित
काठमाडौं : सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस यतिबेला राष्ट्रपतिको भाग पाउने आशामा लागिपरेको छ। अर्कोतिर कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने पनि माग गरेको छ। यसै सन्दर्भमा सोमबार बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने निष्कर्ष निकालेको छ।
सत्तासाझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिको विषयमा कसैले आश नगर्न भन्दै संसद्बाटै झस्काइसकेका छन्। ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएमा दलहरूलाई इंगीत गर्दै भनेका थिए, ‘विश्वासको मत दिएकै आधारमा कुनै पदको बार्गेनिङ खोज्नुभएको हो भने। त्यो आस मात्र हुनेछ।’
कांग्रेसले भने सरकार र निर्वाचन आयोगलाई राष्ट्रपतिको निर्वाचन अघिल्लो समयमै गर्न ध्यानाकर्षण गराउने भएको छ। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘कुनै पनि कारणले राष्ट्रपति निर्वाचन पछि सार्न हुन्न भन्ने हामीले निर्णय गरेका छौं। कानुन र ऐनमा समस्या छन् भने सरकारले त्यसलाई संशोधन गर्दै लैजानुपर्छ।’
त्यसो त कांग्रेसले सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएको थियो। दुवै पदमा सत्तासाझेदार दलहरूले जितिसकेका छन्। पदाधिकारीको बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि अरू दलको सहयोग लिएर उम्मेदवारी दिने विषयमा कांग्रेस अघि बढेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाबीच भएको वार्ताका क्रममा राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने आन्तरिक सहमति नेताहरूबीच भएको स्रोतको दाबी छ। कांग्रेसका एक पदाधिकारीले भने ‘राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई माओवादी केन्द्रले साथ दिने कुरामा हामी ढुक्क छौं। माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलमा छौं।’
- ‘उम्मेदवार उठाउँछौं र जित्ने उद्देश्य लिएर सरकारमा गएका र सरकारभन्दा बाहिर रहेका सबै दलहरूसँग छलफल र सल्लाह गर्छौं’
- राष्ट्रपतिको चर्चामा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि बालुवाटारमा सर्वदलीय बैठक गरेर इसारा पनि गरेका थिए। प्रचण्डले संवैधानिक पदहरूमा सबै दलहरूबीच छलफलको प्रस्ताव अगाडि सार्दै भनेका थिए, ‘सत्ता बाहिर हुनुहुने साथीहरूसँग पनि छलफल गरौं।’
सोही बखत प्रचण्डको भनाइलाई छुँदै ओलीले विश्वासको मत दिएकै आधारमा भाग नखोज्न पनि भनेका थिए। प्रवक्ता महतले भने राष्ट्रपतिको विषयमा कांग्रेसभित्र कुनै द्विविधा नभएको बताए। उनले भने, ‘उम्मेदवार उठाउन पाउँछौं र उम्मेदवार उठाइसकेपछि जित्ने उद्देश्य लिएर सरकारमा गएका र सरकारभन्दा बाहिर रहेका सबै दलहरूसँग हामी छलफल र सल्लाह गर्न सक्छौं। यहाँ त राष्ट्रपति निर्वाचन फागुन २९ मा गर्ने भन्ने गाइँगुइँ सुनिएको छ। हामी त्यो कदापि स्वीकार्दैनौं।’
संविधान र निर्वाचन कानुनका व्यवस्था बाझिएकाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन मिति भने तोकिएको अवस्था छैन। संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ। तर, कानुनमा राष्ट्रपतिको कार्यकाल सकिनु १ महिनाअघि नयाँ राष्ट्रपति निर्वाचित गरिनुपर्ने व्यवस्था छ। यो विषय आपसमा मिलाएर राष्ट्रपतिको निर्वाचन गर्न कांग्रेसले माग गरेको छ। कांग्रेस सहमहामन्त्री जीवन परियारले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने आवश्यकता भएको बताएका छन्। उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका विषयमा समयको विषयमा उठेको विरोधाभाष सरकारले सुल्झ्याउनु पर्छ। कांग्रेसले उम्मेदवार उठाउने बित्तिकै सत्तासाझेदार झस्किनुपर्ने कारण के छ ? हामी अरू दलसँग पनि यो विषयमा छलफल गर्छौं।’
यद्यपि, कांग्रेसले राष्ट्रपतिमा को उम्मेदवारी उठाउने भन्ने विषय भने खुलाएको छैन। पार्टीकै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नाम यतिबेला चर्चामा छ।