ठेकेदारले अलपत्र पारेको सडक स्थानीयद्वारा मर्मत
दाङ : घोराही–तुलसीपुर सडकको निर्माण अलपत्र पारेपछि तुलसीपुर स्थायीय युवाले मर्मत गरेका छन्। लामो समयदेखि अलपत्र सडकले आवागमनमा समस्या पारे पनि यात्रा सहज गराउन युवाहरूले पाँच दिन लगाएर सडक मर्मत गरेका हुन्।
तुलसीपुरको हात्तीखौवा चौकदेखि तुलसीपुर उपमहानगरपालिकाको सिमाना मज्गैसम्मको १७ किलोमिटर सडकमा युवाहरूले आफनो पहलमा मर्मत गरेका हुन्। त्यसको नेतृत्व तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीको गरेका छन्। योगीको नेतृत्वमा युवाहरूले अहिले फोरलेन सडकजस्तो बनाउन थालेका हुन्।
ठाउँठाउँमा परेका सडकका खाडलमा ग्राभेल हालेर लोडर लगाएर काम गरिरहेका छन्। सडकको खाल्डा पुरेर यात्रालाई सहजता बनाउनका लागि युवाहरूले शुक्रबारदेखि अभियान थालेका छन्। तुलसीपुर उपमहानगरपालिकासहित विभिन्न युवा तथा व्यवसायीको सहयोगमा सडकमा मर्मतको काम गरिएको इन्जिनियर पवनकुमार योगीले बताए। ‘दुईवटा उपमहानगरलाई जोड्ने सडकको अवस्था सुधार हुन नसक्दा यात्रामा निकै सास्ती भोग्नु परेको छ’ उनले भने, ‘थोरै भए पनि यात्रालाई सहजता बनाउनका लागि सडकका खाल्डा पुर्न थालेका छौं।’ साथीहरूसँग चिया खाइरहेको समयमा बनेको योजनाले सार्थकता पाएको उनले बताए। ‘कसैले हामीलाई यो गर भनेको होइन्, हामी स्वस्फूर्त रूपमा सडकमा आएका हौं’, उनले भने, ‘अहिले हामीले ग्राभेलमात्रै राखेर सडक मर्मत गरिरहँदा नागरिकलाई सडक कालोपत्रे भए अझै राम्रो हुन्थ्यो भन्ने लागेको छ, तर हामीले अहिले त्यो गर्न सक्ने अवस्था हुँदैन।’
तत्कालका लागि करिब १७ किलोमिटर सडक मर्मत गरिएको छ। सडक ममर्तका लागि तीनवटा जेसीबी, एउटा रोलर, एउटा ग्रेडर, तीन वटा पानी ट्यांकर, टिप्पर प्रयोग गरिएको छ। घोराही–तुलसीपुर सडकलाई स्तरोन्नति गरेर फोरलेन बनाउन सुरु भएको चार वर्ष बितिसकेको छ। तर सडकको काम करिब १० प्रतिशतमात्रै सकिएको छ भने सडक अलपत्र हुँदा दुर्घटनाको जोखिम पनि बढिरहेको अभियन्ता दीपेश भण्डारीले बताए।