किशोर किशोरीलाई आत्मरक्षा तालिम
सुर्खेत: सुर्खेतमा किशोरकिशोरीलाई आत्मरक्षा तालिम दिएको छ। बालबालिकामा हुने हिंसा न्यूनीकरण गर्न र अपराधजन्य गतिविधिबाट आफूलाई जोगाउन बीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २ का ३० किशोरकिशोरीलाई आत्मरक्षा तालिम दिइएको छ।
सुर्खेतको आवाज संस्थाले बिभिन्न बस्तिमा पुगेर कठिन परिस्थितिमा नडराई आत्मविश्वासी बनेर हिंसाको प्रतिरोध गर्न किशोर किशोरीहरुलाई आत्म रक्षा तालिमदिँदै आएको छ। तालिममा सहभागी फलाँटे किशोरी समुहकी सदस्य नन्दा रेग्मीले हिंसाबिरुद्ध प्रतिकार गर्न र बालबिबाह, बहुबिबाह, घरेलु हिंसा जस्ता सामाजिक बिकृतिहरुका बिरुद्धमा आवाज उठाउन तालिम लिएको बताईन्। कठिन परिस्थितिमा आफुमाथि हुने हिंसाको प्रतिकार कसरी गर्ने र समाजमा हुने सामाजिक बिकृतिहरु रोक्न के गर्ने भन्ने बिषयमा जानकारी पाएको उनले बताइन्।
पञ्चपुरी नगरपालिका वडा नं. ५, बाबियाचौरमा पनि २५ जना किशोरीहरुलाई ५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिम दिईएको छ। पंचपुरी नगरप्रमुख उपेन्द्रबहादुर थापाले पञ्चपुरी नगरपालिकामा महिला बालबालिकाहरु माथिहुने हिंसाहरु बढिरहेको पस्थितिमा किशोरीहरुको कमजोर मानसिकतालाई परिवर्तन गर्न, किशोरीहरूको डर हटाई आत्मविश्वासी बन्न, कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न यो तालिम निकै उपयोगी रहेको बताए।
आवाज संस्थाले कर्णाली प्रदेशका १० जिल्लामा किशोरी शसक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ।