मुस्ताङमा ६ महिनाको पुँजिगत खर्च १६ प्रतिशत
जोमसोम-मुस्ताङमा ६ महिनाको पुँजिगत खर्च १६ प्रतिशतमात्र भएको छ। संघीय तथा प्रादेशिक सरकार अन्तर्गतका कार्यालयलाई आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन भएको कूल पुँजिगत विकास बजेट २ अर्ब १७ करोड ६२ लाख रुपैयाँ मध्ये चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा जम्मा ३५ करोड ३८ लाख ७२ हजार मात्र बजेट खर्च भएको छ।
मुस्ताङमा संघीयतर्फका २४ वटा र प्रादेशिकतर्फका ११ कार्यालयलाई विनियोजन भएको पुँजिगत बजेट मध्ये १६ दशमलव २६ प्रतिशत मात्र बजेट खर्च भएको हो।
आर्थिक वर्ष २०७९/८० का लागि संघीय तर्फ चालु र पुँजिगत गरी ३ अर्ब ८० करोड बजेट विनियोजन भएकोमा चालु आर्थिक वर्षको ६ महिनामा १ अर्व ३२ करोड ८७ लाख रुपैयाँ अर्थात ३४ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको छ। जसअन्तर्गत संघीय कार्यालयहरुतर्फ विनियोजन भएको कुल पुँजिगत बजेट १ अर्ब ६१ करोड ३ लाख मध्ये चालु वर्षको ६ महिनामा २१ करोड ११ लाख अर्थात १३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए।
अर्यालका अनुसार संघीयतर्फको कुल चालु बजेट २ अर्व १९ करोड ८७ लाख मध्ये १ अर्व ११ करोड ८६ लाख अर्थात ५० प्रतिशत खर्च भएको हो।
चालु वर्ष प्रदेश सरकार अन्तर्गत चालु र पुँजिगततर्फ ९३ करोड ९८ लाख ६३ हजार विनियोजन भएकोमा २४ करोड ६० लाख ६८ हजार बजेट ६ महिनामा खर्च भएको छ। यो कुल बजेटको २६ दशमलव १८ प्रतिशत खर्च भएको हो। प्रदेश कार्यालयको चालु आर्थिक वर्षमा पुँजिगत विकासतर्फ ५६ करोड ६२ लाख रहेकोमा १४ करोड ३७ लाख अर्थात २५ दशमलव ३९ प्रतिशत खर्च देखिएको छ।
बजेट आँकडा सानो भएपनि संघीय पुँजिगत भन्दा प्रदेशको पुँजिगत खर्च १२ प्रतिशत बढी देखिन्छ। प्रदेशतर्फको कुल चालु बजेट ३७ करोड ३६ लाख मध्ये १० करोड २३ लाख अर्थात २७ दशमलव ३९ प्रतिशत खर्च भएको छ। संघीय चालु भन्दा प्रदेशको चालु खर्च २२ दशमलव ६१ प्रतिशत खर्च कम हो।
चालु आर्थिक वर्ष २०७९/८० का लागि संघीय तथा प्रादेशिक कुल बजेट ४ अर्ब ७४ करोड ८६ लाख मध्ये १ अर्ब ५७ करोड अर्थात ३३ दशमलव ३३ दशमलव १६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ।
संघीय कार्यालयतर्फ राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले कुल पुँजिगत विकास खर्च १ अर्व २८ करोड ७६ लाख बजेटमा चालु आर्थिक वर्षको ६ महिनामा १७ करोड १८ लाख अर्थात १३ दशमलव ३४ प्रतिशत मात्र बजेट खर्च गरेको छ।
आयोजना अन्तर्गत निर्माणधिन सडक तथा पुल र कालोपत्रे विस्तारमा विनियोजन भएको पुँजिगत बजेट निर्माण कम्पनीको ढिलासुस्ती, निर्माण कम्पनीले कामप्रति जवाफदेही नहुनु र निर्माणको काम छोडेर ठेकेदार कम्पनी सम्पर्कविहिन हूँदा आयोजनाको विकास खर्च न्यून हुन पुगेको हो।
आयोजनालाई विनियोजन भएको चालुतर्फ १ करोड ४० लाख बजेट मध्ये ५६ लाख ५८ हजार अर्थात ४० प्रतिशत खर्च गरेको हो। आयोजनाले चालु र पुँजिगत गरी कुल बजेटको १३ दशमलव ६४ प्रतिशत अर्थात १७ करोड ७४ लाख ९९ हजार बजेट चालु आर्थिक वर्षको ६ महिनामा खर्च गरेको हो।
संघतर्फकै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले पुँजिगत बजेट २३ लाख मध्ये ४ लाख ९ हजार र शीतोष्ण बागबानी विकास कार्यालय मार्फाले पुँजिगत बजेट ४ करोड ३६ लाख ८५ हजारमा ३७ लाख ९४ हजार, बजेट खर्च गरेको छ।
यसैगरी प्रदेश अन्तर्गतका कार्यालय मध्ये पूर्वाधार विकास कार्यालयले पुँजिगततर्फ विनियोजन भएको २६ करोड बजेटमा चालु आवको ६ महिनामा ७ करोड ५५ लाख बजेट खर्च गरेको छ।
मुस्ताङ जिल्ला अस्पतालको पुँजिगत विकास खर्च ८ करोड ४० मध्ये १ करोड १९ लाख, खानेपानी, जलश्रोत तथा सिंचाई सवडिभिजनले १६ करोड ९५ लाख पुँजिगत बजेटमा ४ करोड ८० लाख, डिभिजन वनले ५८ लाख मध्ये १४ लाख र सामाजिक विकास कार्यालयले २ करोड २६ लाख मध्ये १६ लाख ३१ हजार पुँजिगत खर्च गरेको हो।
स्थानीय तहको पुँजिगत खर्च एकचौथाइ
मुस्ताङको ५ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजित पुँजिगत विकास खर्च मध्ये ६ महिनाको अवधिमा एकचौथाइभन्दा कम बजेट खर्च गरेका छन्। घरपझोङ गाउँपालिकाले चालु आर्थिक वर्षको कुल विनियोजित बजेट ३२ करोड ३९ लाख मध्ये २९ दशमलव ६१ प्रतिशत खर्च गरेको छ। जसअन्तर्गत कुल पुँजिगत बजेट १५ करोड ४३ लाख मध्ये ४ करोड ६ लाख अर्थात २६ दशमलव ३३ प्रतिशत खर्च गरेको छ।
घरपझोङले चालुतर्फ कुल बजेट १६ करोड ९५ लाख मध्ये ५ करोड ५२ लाख अर्थात ३२ दशमलव ५९ प्रतिशत खर्च गरेको छ। लोमान्थाङ गाउँपालिकाको कुल बजेट २८ करोड ८६ लाख रहेकोमा पुँजिगततर्फ १९ दमलव ८४ प्रतिशत र चालुतर्फ २७ दशमलव ३ प्रतिशत खर्च गरेको छ। लोमान्थाङमा पुँजिगत बजेट १५ करोड १९ लाख विनियोजन भएको थियो।
यसैगरी मुस्ताङको थासाङ गाउँपालिकाले कुल बजेट ३५ करोड २३ लाख मध्ये चालु र पुँजिगत गरी २२ दशमलव २३ प्रतिशत खर्च गरेको छ। जसअन्तर्गत थासाङको पुँजिगत बजेट १४ करोड ६ लाखमा १ करोड ७२ लाख अर्थात १२ दशमलव २४ प्रतिशत खर्च भएको छ। चालुतर्फ २१ करोड २३ लाख मध्ये ६ करोड १२ लाख ६४ हजार खर्च भएको लेखा अधिकृत सकुन्तला अधिकारीले जानकारी दिइन्।
मुस्ताङमा संघीय, प्रदेश र स्थानीय तहको पुँजिगत बजेट खर्च न्यून हुनुको मुख्य कारण भौगोलिक विकटता रहेको कोष नियन्त्रक डालेश्वर अर्यालले उल्लेख गरे। उनका अनुसार भौगोलिक अवस्थाले निर्माण व्यवसायीलाई काम गर्न अप्ठ्यारो पर्नु, निर्माण व्यवसायीको काम गर्ने क्षमता कम हुनु, निर्माण व्यवसायीसँग उपकरण र स्रोतसाधन न्यून हुनु, अघिल्लो आर्थिक वर्षको प्रगती समीक्षामा व्यस्त हुनु र पुस र माघ महिनामा मौसम प्रतिकुलताका कारण काम ठप्प हुनु , कार्यालयमा जनशक्ति पर्याप्त नहुनु आदी हुन्।
यसैगरी वातावरणीय प्रतिवेदन (ईआईए) बिना विकास पूर्वाधारका काम सञ्चालन हुँदा काममा जटिलता उत्पन्न हुनु र जनप्रतिनिधिहरुले विकासको कामप्रति चाँसो नदिनुलगायतका कारणले विकास खर्च लक्ष्य अनुसार नभएको कोष नियन्त्रक अर्यालको भनाइ छ।