सिद्धार्थ राजमार्गको चौडाइ १० मिटर कायम गर्ने प्रस्ताव
स्याङ्जा: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्मको सडक चौडा १० मिटर चौडा कायम गर्नेगरी स्तरोन्नती गर्ने प्रस्ताव भएको छ।
सोही प्रस्ताव मान्ने हो भने स्याङ्जाको हालको अवस्थामा पनि राजमार्ग अन्तर्गत धेरै सडकखण्ड सो मापदण्ड पुगेको देखिन्छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायकता कार्यान्वयन महाशाखाद्धारा पुतलीबजार नगरपालिका ११ स्थित करेण्डाडाँमा मंगलबार आयोजित सार्वजनिक सुनुवाइका क्रममा जानकारी दिइएको हो।
विभागका कन्सल्टेन्सी निरीना खड्गीका अनुसार, ‘सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा) सडक खण्ड २ लेन क्यारिज वे ७ मिटर र सडकका दाँयाबाँया (दुवैतर्फ) १ दशमलब ५/एक दशमलब ५ मिटर (बर्म) शोल्डर सहित कालोपत्रे गर्दै स्तरोन्नती गरेर १० मिटर कायम गरिनेछ।’
विभागले बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्म झण्डैं १६० किलोमीटर सडक स्तरोन्नती आयोजनाको बारेमा प्रत्यक्ष प्रभावित पालिकामा वातावरणीय प्रभाव मूल्यांकनका बारेमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ।