उत्तरकोरियाको राजधानी प्योङ्याङमा ‘लकडाउन’

उत्तरकोरियाको राजधानी प्योङ्याङमा ‘लकडाउन’

प्योङ्याङ : उत्तरकोरियामा श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा पाँचदिने ‘लकडाउन’ आदेश जारी गरिएको छ । गत अगष्टमा कोरोनामाथि विजय प्राप्त गरेको  घोषणा गरेको उत्तरकोरियाले बुधबारदेखि लागू हुने गरी राजधानीभर बन्दाबन्दीको आदेश जारी गरेको हो । 

प्योङ्याङका बासिन्दालाई आजदेखि आगामी आइतबारसम्म घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको उत्तर कोरियाली सरकारले जारी गरेको सूचनालाई उद्धृत गर्दै सोलस्थित एनके न्युजले जनाएको छ ।  राजधानीमा फैलिएको रोगलाई कोडिभ–१९ नभनी त्यसलाई रुघाखोकीका रूपमा चित्रण गरिएको छ । राजधानीमा बन्दाबन्दीको आदेश जारी हुने अनुमान गर्दै नगरबासीले दैनिक आवश्यकताका वस्तु भण्डारण गरेको भोलिपल्ट सरकारी आदेश जारी भएको हो । 

राजधानी प्योङ्याङमा मात्र लकडाउन गरिएको हो वा देशका अन्य शहरमा पनि त्यो लागू गरिएको हो भन्नेबारेमा स्पष्ट गरिएको छैन । राज्य नियन्त्रित सञ्चारमाध्यमले पनि यससम्बन्धमा केही उल्लेख गरेका छैनन् । कोरियाली प्रायद्वीपको यो देशमा निरन्तर तापक्रम घटिरहेको छ । हाल यहाँको तापक्रम माइनस २२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । 

उत्तर कोरियाको छिमेकी तथा प्रमुख व्यापारिक साझेदार चीनले हालै कोभिडविरुद्धको शून्य नीति परित्याग गरेको छ । केही अघि चीनका अस्पताल बिरामीले भरिभराउ भएका थिए भने अन्त्येष्टिस्थलमा ठूलो सङ्ख्यामा शव ल्याइएका थिए । चीनबाट आफ्नो भूमिमा सङ्क्रमण फैलिन नदिन प्रारम्भदेखि नै उत्तर कोरियाले  कठोर नीति अवलम्बन गरेको थियो । यद्यपि उसले चीनसँगको व्यापारलाई अनुमति दिएको थियो । उत्तर कोरियाले गत एप्रिलमा कोरोनाको प्रकोपले देशलाई गाँजेको स्वीकार गरेको थियो तर तीन महिनापछि चमत्कार भएको भन्दै महामारीबाट मुक्त भएको घोषणा गरेको थियो । 

कोरोनासम्बन्धी उत्तर कोरियाली तथ्याङ्क तथा महामारी नियन्त्रणमा आएको भनाइलाई लिएर विशेषज्ञ तथा विश्व स्वास्थ्य सङ्गठनले लामो समयदेखि प्रश्न गरिरहेका छन् । विज्ञहरूका अनुसार उत्तर कोरियाको स्वास्थ्य सेवा प्रणाली कमजोर छ । अस्पतालहरूमा पर्याप्त उपकरण छैनन् भने  अस्पतालहरूमा सघन उपचार कक्ष पनि सिमित छन् । साथै त्यहाँ कोभिड–१९ को उपचार गर्ने औषधिको पनि अभाव छ । दुई करोड ५० लाख जनसङ्ख्या भएको उत्तर कोरियामा कुनै नागरिकले कारोनाविरुद्ध खोप लगाए नलगाएको भन्न कठिन छ । चीनबाट केही मात्रा खोप प्राप्त भएकाले केही नागरिकले खोप लगाएको अनुमान गर्न सकिन्छ । रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.