कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने सम्भावना छ : उपसभापति खड्का
बीरेन्द्रनगर : नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने प्रवल सम्भावना रहेको बताएका छन्।
कर्णाली प्रदेश अस्पताल सुर्खेतको अनुगमनपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन्।
सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका उपसभापति खड्काले नेपाली कांग्रेस अहिले पाटीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफलमा रहेको बताए।
उनले भने, 'पाटीमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भईरहेको छ। पाटीले आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार उठाउने र नेपालका सबै दलहरूसँग छलफल गरेर राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्ने कसरत पनि गरिरहेको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति नभएपनि कांग्रेसकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुने सम्भावना बढी छ।'
उनले निर्वाचनका बेला गठबन्धन गरेको माओबादीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्छ कि गर्दैन भन्ने विषयमा बोल्न चाहेनन्। तर पनि राष्ट्रपतिको निर्वाचनमा अहिलेकै सत्ता गठबन्धनका आधारमा परिर्णाम नआउनेमा उनले संकेत गरे।
उनले भने, 'हामी अहिले छलफलमै छौँ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार नै पाटीले निर्णय गरिसकेको छैन्। राष्ट्रपतिको निर्वाचनमा कुन दलले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने नगर्ने विषयमा बोल्न हतार हुन्छ। तर यति बुझ्नुस् कांग्रेसले नै उठाएको उम्मेदवार राष्ट्रपति हुनेमा म विस्वस्त छु।'
२०७९ सालको मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि कांग्रेस उपसभापति खड्का नियमित गृहजिल्ला भ्रमण गर्न थालेका छन्।
उनी महिनाको दुई पटकसम्म गृह जिल्लामा आएर विभिन्न विकासी योजनाहरू र अस्पताल लगायतका सार्वजानिक सेवा प्रवाहका विषयमा चासो दिन थालेका छन्।
उनले निर्वाचनको बेला जनताका बीचमा रहेका प्रतिबद्धताहरू पूरा गर्न र जनताका सवालहरूलाई सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।