सुविधा पुग्दै छ, बसाइँ सर्दै छ
सन्धिखर्क : लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा गाउँगाउँमा विकास पुग्दै छ। साबिकका ४२ वटै गाविसका अधिकांश घरमा २०६३ सालमै मोटरबाटो पुगेको थियो। पुनर्संचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै ६१ वटा वडामा मोटरबाटो पुगेको छ। अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ।
खानेपानीका धारा घरघरमा पुगेका छन्। टेलिफोन टावर पुगेका छन्। गाउँ–गाउँमा विद्यालय बनेका छन्। सबै वडामा स्वास्थ्य चौकीसमेत बनेका छन्। तर मानिस धमाधम बसाइ सर्दैछन्। गाउँका अधिकांश घर खाली छन्। कोही बसाइँसराइको कागजपत्र बनाएर बसाइ सरेका छन् भने कोही नबनाइकनै।
२०७७ साल वैशाखदेखि चैत मसान्तसम्ममा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाबाट आठ सय १८ घर परिवार बसाइँ सरे। २०७८ सालमा अघिल्लो वर्षभन्दा झन्डै ६२ प्रतिशत बढी घर परिवार बसाइ सरे। २०७९ साल वैशाखदेखि मंसिर मसान्तसम्ममा १६ सय २ घरधुरी बसाइँ सरिसके। बसाइँ सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिकाका छन्। गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार बितेका ३२ महिनामा सो गाउँपालिकाबाट मात्रै ११ सय २४ घर परिबार बसाइँ सरे। सोही अवधिमा अन्य ठाउँबाट १ सय ९० परिवार मात्र मालारानीमा आए।
अन्य पालिकाको तुलनामा सन्धिखर्कबाट बसाइ सराइ गर्ने सबैभन्दा थोरै छन्। सन्धिखर्कबाट बिगतका ३२ महिनामा तीन सय ३० घरपरिबार बसाइँसराइ गरेर गएको सन्धिखर्क नगरपालिकाको पञ्जीकरण शाखाका कम्प्युटर अपरेटर शालिकराम नेपालीले बताए। सो अवधिमा १७८ घरपरिवार अन्यत्रबाट बसाइँ सरेर आए।
बितेका ३२ महिनामा शीतगंगा नगरपालिकाबाट ८ सय ९७ घरपरिबार बाहिरिएको र २ सय १५ घरपरिवार भित्रिएको शीतगंगा नगरपालिकाका पञ्जीकरण शाखामा कार्यरत कम्प्युटर अपरेटर धर्म बन्जाडेले बताए। भूमिकास्थान नगरपालिकाबाट ३ सय ४१ घर परिवारका १३ सय ७७ जना व्यक्तिहरू बसाइँसराइ गरेर अन्यत्र गएको नगरपालिकाका कर्मचारी चिरन भुसालले बताए। पाणिनी गाउँपालिकाबाट ४ सय ३६ घरपरिवार बसाइँसराइ गरेर गएको र ४३ घरपरिवार अन्यत्रबाट बसाइसराइ गरेर पाणिनी गाउँपालिकामा भित्रिएको पाणिनी गाउँपालिकाका कम्प्युटर अपरेटर माधव घिमिरेले बताएका छन्। छत्रदेव गाउँपालिकामा ६ सय १६ घरपरिवार बसाइँ सरेर अन्यत्र गएको र ७० घर परिवार भित्रिएको गाउँपालिकाका कम्प्युटर अपरेटर धनमाया श्रेष्ठले जानकारी दिइन्।
राष्ट्रिय जनगणना २०६८ बमोजिम अर्घाखाँचीको कुल जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो जसमध्ये पुरुषको संख्या ८६ हजार २ सय ६६ र महिलाको संख्या १ लाख ११ हजार ३ सय ६६ जना थिए। २०७८ सालको जनगणनामा अर्घाखाँचीको जनसख्या घटेर १ लाख ७२ हजार भएको छ।
स्थानीय, प्रदेश तथा संघका सबै निर्बाचनमा राजनीतिक दलहरूले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिन्छन्। तर पनि लागू हुन नसकेको गुनासो स्थानीय युवाले गरेका छन्। अधिकांश मानिस शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरका लागि बसाइँसराइ गर्ने गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। सुपा देउराली, अर्घा भगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नर्सिंह स्थान, सिद्धेश्वर शिवालय लगायतका ठाउँमा पर्यटनको सम्भावना भए पनि प्रचारप्रसार र रोजगारी बढाउने योजना बनेको छैन।
अर्घाखाँचीका ६ वटै पालिका बसाइँसराइलाई कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदे वाली लगायतलाई प्राथमिकता दिने सोचमा छ। बसाइ सराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँ–सर्ने बढेका छन्। साथै बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षा लगायत विविध कारणले आन्तरिक बसाइँ–सराइको संख्या बढ्दै गएको छ।
अर्घाखाँचीबाट झन्डै ४५ हजार युवायुवती भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायतका देस गएका छन्। साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाले गरेको अनौपचारिक सर्भेक्षणअन्ुसार जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ।
वार्षिक झन्डै साढे सात अर्ब रुपैयाँ अर्घाखाँची भित्रने गरेको छ। त्यसमध्ये ३ अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामाग्री, खानपान, मोटर साइकल, कार, इन्धन, लत्ताकपडा, मोवाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ।