लुम्बिनीमा गच्छामी नाटक
लुम्बिनी: तिलौराकोट दरवारको शयनकक्षमा सुतिरहेका यशोधरा र राहुललाई मैनवत्तिको उज्यालोमा हेरेर सिद्धार्थ गौतमले सन्यासी जीवनको यात्रा तय गरे। सारथी छन्दकसँग बिदावारी भएर सिद्धार्थले दरवार त्याग गरे। यशोधराले जब सिद्धार्थले गृहत्याग गरेको पत्तो पाईन् भावह्विल भईन, बुद्धजन्मस्थल लुम्बिनीका दर्शकहरूले पनि आँखा ओभानो राख्न सकेनन्। यी दृश्य गच्छामी नाटक प्रदर्शनका हुन्।
आरोहण गुरुकुलले तयार पारेको नाटक बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदर्शन गरिएको छ। नाटक प्रदर्शनका लागि सुविधायुक्त संरचना नभएपछि गुरुकुलले स्थानीय संघसंस्थाको सहयोगमा नाटक प्रदर्शन गर्यो। नाटक बुद्धको जीवनीसँग सम्बन्धित छ। बुद्धको जीवनी पढेका, जन्मस्थल र तिलौराकोट दरवार देखिरहेका दर्शकलाई कलाकारले बौद्धकालीन समयमै पुर्याए। २६ सय वर्षअघिका ती दृश्यले नाटक हेर्न पुगेका अधिकांश दर्शकको आँसु रोक्नै सकेन।
कपिलवस्तुको तिलौराकोटमा २९ वर्ष बिताएका सिद्धार्थ गौतमले गृहत्याग गरेको दृश्यबाट बुद्धत्व प्राप्तिपछि तिलौराकोट फर्किएको दृश्यसम्म नाटक केन्द्रित छ। बुद्ध जन्मिएपछि भएको भविष्यवाणीबाट चिन्तित बनेको राजा शुद्धोधनको परिवारलाई कलाकारले दुरुस्त नाटकमा उतारेका छन्।
नाटकमा देखिएका सिद्धार्थको गृहत्यागको दृश्यले दर्शकका आँखाबाट आँसु रोकिएनन्। ‘पढिरहेको कुरा प्रत्यक्ष देखिदा मन थाम्न सकिएन,' नाटक हेर्न पुगेका बुटवलका श्रवण कार्कीले भने। गृह त्याग र बुद्धको तिलौराकोट आवागमनका समयमा देखिने दृश्यले दर्शकका आँसु खसालेको थियो।
संस्कृतिविद् एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरीले बुद्धको कथालाई कलाकारले राम्रोसंग नाटकमा उतारेको बताए। ‘नाटकले बुद्धलाई नागरिकस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने छ,' उनले भने।
नाटकका परिकल्पना तथा निर्देशक सुनिल पोखरेलले बुद्धसम्बन्धी विभिन्न पुस्तकहरुका आधारमा नाटक तयार गरिएको बताउँछन्। नाटकले बुद्धको परिवारले सिद्धार्थलाई बुद्ध बनाउन गरेको योगदानलाई देखाउने उनको भनाइ छ।
आरोहण गुरुकुलले यो नाटक पहिलो पटक पुसमा काठमाडौंमा प्रदर्शन गरेको थियो। त्यसपछि भारतको पटनामा पनि प्रदर्शन गरिएको थियो। लुम्बिनीमा माघ ११ र १२ गते गरी ४ शो प्रदर्शन गरिएको हो ।
स्थानीय रुपमा नाटक प्रदर्शनको व्यवस्थापन गरेका हेमबहादुर विष्टले नाटकले लुम्बिनी तथा बौद्ध स्थलमा पर्यटन भित्र्याउन र बुद्ध को हुन भन्ने चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे। ‘लुम्बिनीमा नाटक प्रदर्शन गर्ने स्थान नहुदा पनि हामीले यो देखाउन सकेका छौं, दर्शकहरुले निकै मन पराएको पयौं,' उनले भने।
लुम्बिनीमा नाटक प्रदर्शनका लागि लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी होटल एसोसिएसनले सहआयोजकको भूमिका निर्वाह गरेका थिए।
गच्छामीमा सुनिशा बजगाई, राज न्यौपाने, सुवास तिमिल्सिना, राजेन्द्र कट्टेल, सौजन लिम्बू, मोहन राई, प्रतिज्ञा भण्डारी, केशव शाही, प्रकाश थापा, आशिष घिमिरे, एलिजा तुम्बापो, विश्वास मानन्धर लगायतका कलाकार मञ्चमा देखिएका छन्।