भौतिक पूर्वाधार मन्त्री यादवद्वारा पदभार ग्रहण
जनकपुरधाम: मधेस प्रदेशका भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छन्। गत मंसिर २९ गते विना विभागीय मन्त्रीको हैसियतमा शपथ ग्रहण गरेका मन्त्री यादवले १५ दिन पछि विभागीय मन्त्रीको रुपमा आज पदभार ग्रहण गरेका हुन्।
भौतिक विकास पूर्वाधार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री यादवले मधेस प्रदेश अन्तर्गतका सातै यातायात व्यवस्था कार्यालयमार्फत छिटो छरितो कार्य गर्न टोकन प्रणालीमार्फत काम गर्ने गराउने निर्णय गरेका छन्। संघीय सरकारको परिपत्र र जनतालाई सहज सेवा प्रवाहका लागि टोकन प्रणालीबाट सेवा सुचारु गराउने निर्णयमा मन्त्रीले हस्ताक्षर गर्दै पदभार ग्रहण गरेको हुन्।
मन्त्री यादवले प्रदेशको गौरवको आयोजनाको रुपमा प्रादेशिक सडकको विकास द्रुत गतिमा काम अघि बढाउन लागेको जानकारी दिए। उनले भने, ‘यो मन्त्रालयबाट पहिले जस्तो २-४ लाखको योजना छुटयाइँदैन्। पहिले जे भयो भयो, अब त्यो सानो तिनोभन्दा पनि प्रादेशिक गौरवको योजनाका काम अघि बढाईनेछ।’