फरफराउँदै उडाउँदैछ
उनको कपाल
कास
म हावा हुँदो हुँ
झोक्काले
हिर्काउँथे सुस्तरी
र, सर्सराउँथे उनको हृदय
जहाँ उड्नेछन् पुतली झैं
रहरका आफ्नै आकाश
मुस्कुराउँदै
भत्काउँदैछ कलिलो घाम
ठानेर शीतको थोपा उनको आँखा
कास
म घाम हुँदो हुँ
फुर्काले
हिर्काउँथे सुस्तरी
र, बफ्याउँथे उनका आँखा
जहाँ छचल्किन्छन्
हरेक रात अनगिन्ती समुद्र
मैले ठानें
उनी त त्यै जुन न हो
जो न दिन सक्छ रूख झैं शीतलता
न उदाउन सक्छ घाम झैं अर्को बिहान
जूनकीरी झैं
मधुरो पिलपिल बोकेर
ऐंठेनका प्राचीन गोरेटा
ऊ
एक्लै–एक्लै
के सोचेर वर्षौंवर्ष डुलिरहन्छ ?