ए जय छाङ्छा !
फर्किआउने मार्ग छैन।
कवि भएँ भन्दैमा तिमीले
आफ्नै मृत्यु कसरी लेख्न सक्यौ ?
बेहोस भएर सुतेको एउटा जीवन
पानी छम्केर ब्युँत्याउने तिमी नै होइनौ ?
खर्च भएर सकिनै लागेको
अलिकति ढुकढुकी
उत्खनन गर्ने तिमी नै होइनौ ?
निभ्न लागेको जीवनको
सलेदो फेरेर
सीमाहीन प्रेम दर्शाउने
तिमी नै होइनौ र जय छाङ्छा ?
भोलिको सपना देखाएर
मायाको बिस्कुन सुकाइसकेपछि
तिम्रा आँखाहरू
किन बीचमै
मृत्यु भेट्न हाम्फालेका ?
यसरी जीवनसँग जोडिएको मृत्युलाई
तीक्ष्ण व्यंग्य प्रहार गर्दै
आफैंले आफ्नो चिता सल्काउनू
कहाँ सजिलो छ र जय छाङ्छा ?
त्यो दिन
‘अब जय छाङ्छा मर्छ,
खुत्रुक्कै मर्छ, अहिले नै मर्छ’
भन्दै धेरैजनाको अगाडि
ठिंग उभिएर तिमीले
आफ्नै मृत्युको कविता ओकल्यौ।
अब त बुझ्यौ नि !
‘जीवन एउटा वान वे ट्राफिक हो’
के थाहा त्यै कविता बोकेर मृत्यु
हाम्रो बिस्कुन उठाउन आइदियो भने...!
त्यसैले, कविताभित्र मृत्यु छिराइ नहिँड्नू
जय छाङ्छा ! अब त्यसो नगर्नू।
बरु सक्छौ भने,
जीवनदर्शन भरिएको
एउटा तेजिलो कविता बोकेर
भोलि त्यहीँ आऊ
जहाँ पहिलो पटक भेटेका थियौं।