किन बिकेन किसानको धान ?

किन बिकेन किसानको धान ?

जनकपुरधाम : नेपाल सरकारले धानको खरिद मूल्य निर्धारण गरेको चार महिना बित्यो। तर, किसान भने धान खरिदमा ढिलाइ भएको गुनासो गरिरहेका छन्। प्रविधिको प्रयोगसँगै धान काट्न सहज बनेको छ। धान काट्न सहज बनेपछि किसानले छिट्टै घरमा धान भिœयाउँछन्। तर, सरकारले धान किन्न ढिलाइ गरेपछि गाउँगाउँमा पुगेर व्यापारीले धान किन्न सुरु गरेको महिनौं हुँदासमेत किसानको धान किन्न सरकारले भने बेवास्ता गरेको उनीहरूको आरोप छ।

महोत्तरी औरही नगरपालिका कविलासीका किसान पुरन साहले सरकारले धान किन्न ढिलाइ गरेपछि घरनजिकै आएका व्यापारीलाई बिक्री गरेको बताए। भने, ‘धान काटेपछि कहाँ राख्ने ? समस्या हुन्छ। आफूलाई चाहिने धान राखेपछि बिक्री गर्नुको विकल्प हुँदैन। सरकारले समयमा धान किनिदिँदैन। सबैतिर धान किन्न सुरु भइसकेको छ। तर, हाम्रोतिर कहिले किन्ने भन्ने टुंगो छैन। गहुँ छर्न, बिउ र मलखाद्य किन्न साथै परिवार चलाउनलाई पैसा चाहियो। तर, आम्दानीको स्रोत धान खेतीबाहेक केही छैन। अत्यन्त सस्तोमा भए पनि धान बेचेर घरगर्जो टार्नेदेखि लिएर अन्य आवश्यकता पूरा गर्न पनि अन्तिम विकल्पको रूपमा धान बिक्री गर्नै पर्‍यो।’

कृषि मन्त्रालयको प्रस्ताव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमतिमा मोटो धान प्रतिक्विन्टल २ हजार ९ सय ६७, मध्यम धान ३ हजार १ सय २८ र जिरा मासिनो धानको ३ हजार ५ सय ६५ रुपैयाँ समर्थन मूल्य तोकिसकेको छ। तर, किसान भने व्यापारीलाई झन्डै आधा मूल्यमा धान बिक्री गर्न बाध्य छन्। 

ट्र्याक्टर लिएर गाउँगाउँ पुग्ने व्यापारीलाई मोटो धान प्रतिक्विन्टल २ हजार रुपैयाँका दरले बिक्री गरेको साहले बताए। सरकारले पहिलो कात्तिक १६ गते नै किसानले उत्पादन गर्ने धानको मूल्य तोकेर खरिद गर्ने घोषणा गरेको थियो। तर, सरकारको तर्फबाट धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामले भने खरिद गर्न आलटाल गरिरहेको छ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा लहान र वीरगन्जमा धान खरिद प्रक्रिया सुरु भएर समाप्त भइसकेको छ। तर, जनकपुरधामबाट धान खरिद प्रक्रिया सुरु नहुँदा किसानलाई घाटा र व्यापारीलाई फाइदा पुगेको धनुषा लक्ष्मिनिया गाउँपालिकाका किसान सखिचन्दन यादवले बताए। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिद गर्न सयौं पटक भने पनि अटेरी गरेको बताए। उनले भने, ‘किसान आएर लौन हजुर किनिदिएन भने गुनासो गर्न आउँछन्, किसानको गुनासोलाई मध्यनजर गरेर मैले स्वयं सयौं चोटी किसानको धान छिटो खरिद गर्न भने। तर, भएन। यति ढिलो किन भयो भन्ने कुरा चैं कम्पनीलाई नै सोध्नुस्।’

स्रोतका अनुसार गोदाम प्याक भएको बहाना बनाएर व्यापारीसँगको मिलेमतोमा धान खरिद प्रक्रियामा ढिलाइ भएको स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘धान खरिद समितिले धान खरिद गर्नु भनेर भनिसकेको छ। तर, २३ गतेबाट मात्र धान खरिद गर्ने सूचना प्रकाशन गरेको छ। यसले पनि के देखाउँछभन्दा धान खरिदमा व्यापारीको सहुलियतका लागि थप किसानलाई मर्कामा पारिँदैछ।’ 

लिमिटेडले धान किन्न ढिलाइ गर्दा त्यसको फाइदा धान व्यापारीलाई भएको छ। ‘छिटोभन्दा छिटो सम्बद्ध पक्षसँग बैठक बसेर धान किन्ने प्रक्रिया सुरु गर्न निर्देशन दिए पनि खै के कारणले किसानले उत्पादन गरेको धान खरिद गर्न ढिलाइ गरेको हो बुझनै सकिएन,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘किसानले व्यापारीलाई धान बेचिसके। अब किसानसँग थोरबहुत धान होला। सबै किसानले त धान बेचिसके।’  

कम्पनीका जनकपुरधाम मुख्य शाखाका निमित्त प्रमुख उपेन्द्र लिम्बूले धान खरिद गर्न ठाउँ अभावले ढिलाइ भइरहेको बताए। मंसिर महिनाको अन्तिम सातामा धान खरिद गर्ने पत्र पाए पनि गोदाम खाली नभएका कारण धान खरिदमा ढिलाइ भइरहेको लिम्बूले बताए। उनले भने, ‘हामीकहाँ धान कुटान मिल पनि यही छ। धान कुटान गरेर यही राखिन्छ। विस्तारै समयानुकूल मिलाएर काठमाडौंलगायत माग भएका ठाउँमा लगिन्छ।’

कम्पनीले किसानबाट १५ सय मेट्रिकटन धान किन्ने लक्ष्य राखेको छ। लिम्बूले भने, ‘धान खरिदमा केही ढिलाइ भएको त हो। तर, हामीले यहाँबाट केही गर्न सक्दैनौं। नेपाल सरकारले धानको मूल्य निर्धारण गरेपछि मन्त्रालय हुँदै विभाग भएर हामी कहाँ आइपुग्छ। अनि ढिलो भइसकेको हुन्छ।’ मधेसमा धान उत्पादन घट्यो मधेस प्रदेशको जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ। बेमौसमी वर्षा र धानखेतीको समयमा वर्षा भएको र ग्वारो किराको प्रकोपसमेत बढेकोले धान उत्पादनमा कमी आएको छ। तथापि सबैभन्दा धेरै धान मधेस प्रदेशले फलाएको छ। मधेसले १३ लाख ८८ हजार मेट्रिकटन धान फलाएको हो। 

प्रदेशमा गत आर्थिक वर्षमा कुल ३ लाख ७६ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.५१ मेट्रिकटनका दरले १३ लाख १९ हजार ८ सय ६ मेट्रिकटन धान उत्पादन भएको छ। २०७७÷०७८ मा ३ लाख ४५ हजार ६ सय ३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.६५ मेट्रिकटनका दरले १२ लाख ६२ हजार दुई सय मेट्रिकटन धान उत्पादन भएको थियो। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार पर्सामा ३५ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४.८० मेट्रिकटनका दरले १ लाख ६८ हजार ९६ मेट्रिकटन धान उत्पादन भएको थियो। बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४.१९ प्रतिशतका दरले १ लाख ९२ हजार ७ सय ६८ मेट्रिकटन धान उत्पादन भएको छ।

२०७७÷०७८ मा पर्सामा ३९ हजार ४ सय ६३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४.५ मेट्रिकटनका दरले १ लाख ५९ हजार ८ सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो भने बारामा ४० हजार १२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३३ मेट्रिकटनका दरले १ लाख ३३ हजार ६ सय १६ मेट्रिकटन धान उत्पादन भएको थियो।

धनुषामा गत वर्ष ५३ हजार ४ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.२० का दरले १ लाख ७० हजार ८ सय ८० मेट्रिकटन, महोत्तरीमा ४५ हजार ५ सय हेक्टरमा प्रतिहेक्टर ३.६३ मेट्रिकटनका दरले १ लाख ६५ हजार २ सय मेट्रिकटन, सर्लाहीमा ४४ हजार हेक्टरमा प्रतिहेक्टर ३.३० प्रतिशतका दरले १ लाख ४५ हजार २ सय मेट्रिकटन र रौतहटमा ३७ हजार ७ सय ७५ हेक्टरमा प्रतिहेक्टर २.९६ मेट्रिकटनका दरले १ लाख ११ हजार ७ सय ४० मेट्रिकटन धान उत्पादन भएको थियो।

सिरहामा ५७ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.४० मेट्रिकटनका दरले १ लाख ९६ हजार १ सय ४६ मेट्रिकटन र सप्तरीमा ५७ हजार ५४ हेक्टरमा प्रतिहेक्टर २.९८ मेट्रिकटनका दरले १ लाख ६९ हजार ७ सय ७६ मेट्रिकटन धान उत्पादन भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.