गुरु डा. रुदिगरको गरिमा
नेपालमा महाभूकम्प (२०७२) गएकै वर्ष भूकम्प पीडितको सहयोगार्थ बर्लिनस्थित फोटो प्रदर्शनीको आयोजना गरेको थिएँ। नेपाली राजदूतावासका तत्कालीन कायममुकायम राजदूत प्रकाश पौडेलले दूतावासमार्फत आर्थिक सहयोग गरेका थिए। प्रदर्शनीमा धेरै नेपाली तथा विदेशी पाहुनाको उपस्थिति थियो। डा. रुदिगर क्लाउज र एन्जेलिका सुल्ज पनि कार्यक्रममा पाहुना थिए।
मबाहेक फोटोग्राफरद्वय चन्द्रशेखर कार्की र ऐशु माथेमासँग रुदिगरको चिनजान रहेछ। दूर देशका परिचित साथीको तस्बिर देखेर रुदिगर खुसी भए। असजिलो मान्दै मलाई सोधे, ‘वर्षौंदेखि नेपालमा धेरै फोटो पत्रकारलाई प्रशिक्षण दिँदै आएको छु तर तिमीलाई कहिल्यै भेटेको याद छैन।’ डा.रुदिगर क्लाउजबारे धेरै सुनेको थिएँ तर उनी र एन्जेलिकासँग पहिलो भेट थियो। कार्यक्रममा आमन्त्रित थुप्रै पाहुनामध्ये रुदिगरसँग निकटता महसुस हुन्थ्यो। तत्पश्चात् भेटघाट बाक्लिँदै गयो।
रुदिगर पहिलो पटक सन् २००६ मा नेपाल आएका रहेछन्। उनको यहाँ प्रकृति र हिमालप्रति मोह बसेको पाएँ। नेपालीका लचिला स्वभावबारे निकै तारिफ गर्थे उनी। भए पनि ठिक नभए पनि ठिक नेपालीका बानी देखेर आश्चर्य मान्थे। जर्मनीमा चिसो हावा चल्ने तर नेपालमा जाडो महिनामा पनि घाम लाग्ने हुँदा यहाँ बस्ने नेपाली भाग्यमानी भएको ठान्थे उनी। विकासको सही अवधारणा लागू गर्ने हो भने नेपालको कायापलट हुन सक्ने उनको बुझाइ थियो। वास्तवमा रुदिगरका लागि नेपाल जर्मनी पछिको दोस्रो घर थियो।
रुदिगरसँगका हरभेटमा नेपाली फोटो पत्रकारिता विषयक कुराकानी हुन्थ्यो। नेपाली युवामा फोटो कथाको चाख बढ्दै गएकाले सोसम्बन्धी सामग्री तयार गर्न मलाई हाते पुस्तक लेख्न अनुरोध गरे। करिब तीन महिना लगाएर पुस्तक तयार पारें। जसमा सन् २०१६ सम्म छापिएका मेरा फोटो कथाहरू पनि समावेश छन्। उनले एकपटक उनको संस्था आईआईजेबी घुम्न बोलाए। त्यो विशाल अनि भव्य संस्थाको भवन देखेर छक्क परें। फोटो पत्रकारिताका किताब र सामग्रीले भरिभराउ उनको त्यो अफिसमा विश्वभरबाट प्राप्त गरिएका स्नेह सद्भावका चिनोहरूको ठुलै चाङ्ग थियो। नेपाली कोसेलीहरू विशेष सझाइएका थिए। अफिससँगै जोडिएको दक्षिण मोडा घाँसेमैदान बगंैचा बहुत सुन्दर देखिन्थ्यो।
सन् १९६३ मै उक्त संस्था स्थापना भएको रहेछ। दक्षिण मुलुकका पत्रकारहरूलाई सहयोग, तालिम र प्रशिक्षण दिनु मुख्य उद्देश्य थियो। तदनुसार दक्षिण अमेरिका, अफ्रिका र एसियाका धेरै पत्रकारले जर्मनी गएर पत्रकारिताका विभिन्न क्षेत्र छापा, रेडियो, टीभी र फोटोग्राफी तालिम प्राप्त गरे। सन् १९८० दशक टेलिभिजन एक्सपर्टको हैसियतमा रुदिगरले आईआईजेबीमा काम सुरु गरे। सन् १९९१ मा चेयरम्यान नियुक्ति पाए। उनको कार्यकालमा धेरैभन्दा धेरै पत्रकारको सीप विकासका लागि संस्थाका कर्मचारी स्वयं विभिन्न देश गएर प्रशिक्षण सुरु गरे। आफूले जानेका कुरा अरूलाई पनि बाँडौं भन्ने मनसायले प्रायः देशमा अल्मनाई गठन गरिए। फलस्वरूप नेपालमा आईएएएन स्थापना भयो।
विभिन्न कारण सन् २०१७ मा आईआईजेबी संस्था बन्द भयो। सन् १९६४ देखि २०१७ सम्मका कागजात सरकारी अभिलेखालयमा बुझाए। अनि त्यो रहरलाग्दो चौर, बगंैचासहितको विशाल तथा सुन्दर संस्था–भवन चिनियाँ व्यापारीलाई बेचियो। रुदिगर सेवानिवृत्त भए। संस्थागत कार्यक्रम तथा प्रशिक्षणमा पूर्णविराम लागे पनि नेपाल र नेपाली फोटो पत्रकारिताप्रति रुदिगरको चासोमा कहिले पूर्णविराम लागेन। सन् २०१९ मा रुदिगर र चन्द्रशेखर कार्कीले धुलिखेल अस्पतालस्थित काभ्रेका पत्रकारलाई एक दिने फोटो पत्रकारिता तालिम दिए।
पछिल्लो पटक सन् २०२२ मा जर्मनी गएँ। रुदिगरसँग तीन पटक भेट भयो। उनलाई झन् नजिकबाट चिन्ने मौका पाएँ। श्रीमती र छोरीले छोडेर गएको र सम्पर्कमा रहन नचाहेको दुःखेसो उनले पोखे। छोरा बेन्जामिन ह्यामबर्गमा हार्ट सर्जन रहेछन्। छोरासँग भने आत्मीय सम्बन्ध रहेछ। बेन्जामिनको आग्रहमा रुदिगर आत्मकथा लेख्दै थिए। सन् १९४६ सेप्टेम्बेर २१ ड्रेस्डेन स्याक्सोनिमा जन्मेका रुदिगर जीवनका तिता—मिठा स्मृति–शृंखला सम्झँदै ५४औं वसन्त सन् २००० चित्रण गर्दै गरेको सुनाए।
दोस्रो भेटमा हामी मुगल ताल गयौं। बात मार्दै जाँदा रुदिगरका आँखा खुसीले बल्न लागे। प्रसंंग थियो ब्रिगिटा, रुदिगरकी पूर्वप्रेमिका। उनी रोमान्सका दिन सम्झन लागे। बिहे अघिकी प्रेमिका ब्रिगिटासँग रुदिगरको पुनर्मिलन भएछ। एउटै सहर बर्लिनमा छुट्टाछुट्टै बस्दै आएका यी पुनर्मिलित जोडीले सँगै बस्न अपार्टमेन्ट खोजेछन्। उनले यो सन्दर्भ सुनाइरहँदा हामी मुगल तालको किनारैकिनार जंंगलमा हिँडिरहेका थियौं। एक्कासि रुदिगरका आँखा रसाए, बोली मलिन थियो। म निःशब्द रुदिगरका भावना पछ्याइरहेको थिएँ। तालको पानी किनारामा ठोक्किँदा कारुणिक धुन झैं लाग्थ्यो। मेरो मन चसक चसक हुन्थ्यो।त्यो भेट पनि लामो रहेन। सन् २०२० मा कोभिड समय चलिरहँदा ब्रिगिटा भने क्यान्सरले परलोक भइछन्। बाँचुन्जेलसँगै बस्ने चाहना पनि अधुरै रह्यो। रुदिगर विशाल बर्लिनमा फेरि एक्लो भए।
नेपाल फर्कनु अघिल्लो दिन एन्जेलिका पनि रुदिगरको अपार्टमेन्टमा आमन्त्रित थिइन्। हामी चिया पिउँदै, चकलेट खाँदै नेपाली दिन, प्रिय नेपाली साथीहरू सम्झिन थाल्यौं। रुदिगर जितेन्द्र वज्राचार्यको नाम बार–बार लिन्थे। जितेन्द्र रुदिगरका विशेष चेला थिए। प्रशिक्षण चलाउँदा जितेन्द्रको सहयोग उनलाई अपरिहार्य हुन्थ्यो। रुदिगरका अर्का विशेष साथी चन्द्रशेखर कार्की हुन्। कार्कीले रुदिगरसँग तालिम नलिए पनि उनलाई गुरुझै मान्थे। एक पटक ठाउँको ठाउँबिना पैसा माउन्टेन फ्लाइट मिलाइदिएका रहेछन् रुदिगरलाई कार्कीले। त्यो सम्झेर अझै
चकित थिए रुदिगर।
छोरा बेन्जामिनसँग नेपाल आउँदा कार्कीसँग नगरकोटमा ब्ल्याक लेबेल किस्सा, अनि बिहानीको फस्र्ट लाइटमा पर्फेक्ट फोटो खिचेको दिन सम्झन लागे। नेपाल आउँदा प्रायः बस्ने गरेको पुल्चोकस्थित हिमालय अपार्टमेन्ट होटल र भक्तपुर दत्तात्रेयमा रहेको मयूर विन्डो सपका साथीहरूलाई पनि सोधेको सुनाइदिन भन्न भ्याए उनले। नेपालमा फोटो पत्रकारिता तालिमबारे हामीले एउटा खाका तयार पार्यौं र पुलकित त्यो क्षण बिट मार्दै, छिट्टै नेपालमा भेट्ने वाचा गर्दै एन्जेलिका र म त्यहाँबाट बिदा भयौं।
२०२२ नोभेम्बेर ९ मा बर्लिनबाट सन्देश आयो। एन्जेलिकाद्वारा लिखित त्यो सन्देशको शीर्षक ‘स्याड न्युज फ्रम बर्लिन’ सामान्य थिएन। दुई हप्ताअघि रुदिगरको त्यो उज्यालो अनुहार झलल्ल बनेर आयो। नोभेम्बेर ८ मा रेल दुर्घटनामा परी रुदिगर सदाका लागि अलप भएछन्। रुदिगर मेरा लागि गुरु अनि म उनकोे चेलो–साथी। उनी मलाई फोटो पत्रकारिताका पुस्तकहरू अभ्यस्त गराउँथे। म उनलाई वृत्तचित्रहरूबारे सुनाउँथे। हामीबिच शुद्ध नाता फोटो पत्रकारिता थियो।
नेपालमा फोटो पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न, फोटो पत्रकारहरूलाई अब्बल बनाउन रुदिगर हरदम लागिपरेका पात्र हुन् भन्दा अत्युक्ति हुँदैन। उनले वास्तवमै तिर्न नसक्ने गुन लगाएका छन्– नेपाली फोटो पत्रकारिता उत्थान र विकासका निम्ति। नेपाली फोटो पत्रकारहरूको व्यावसायिक प्रस्तुतिले नै रुदिगरको सही अर्थमा सम्मान हुनेछ।